काठमाडौं, भदौ ३१ (ई-रैवार)
भदौ ३ गतेकोमध्ये रातिबाट सुरु भएको निषेधाज्ञा २१ दिनपछि केही खुकुलो भयो । दोस्रो चरणको बन्द खुकुलो भएपछि सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दियो । व्यापार व्यवसाय सञ्चालन गर्न अनुमति दियो ।
होटेल रेस्टुरेन्ट ‘टेक अवे’ को अवधारणामा सञ्चालन गर्न अनुमति दियो । फुटपाथ सञ्चालन गर्न अनुमति दियो । तर, खेलकुदप्रति भने कसैको चासो बढ्न सकेन ।
साउनमा खुकुलो भएको अघिल्लो चरणको बन्दाबन्दीपछि नेपाली खेलकुद फर्किने आसा गरिएको थियो । केही खेलले प्रशिक्षण समेत सुरु गरेका थिए । तर, बढ्दो कोरोना संक्रमणको संख्यालाई ध्यानमा राख्दै सरकारले धेरै जसो जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । सम्पूर्ण गतिविधि पुनः ठप्प भए । अवस्था सहज भयो, अन्य विषयमा सहज हुँदा खेलकुद क्षेत्र भने खुकुलो भएको छैन ।
यता राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले नेपाली खेलकुद सुरु गर्न अझै केही समय पर्खिनु पर्ने बताएका छन् । हाल पर्ख र हेरको अवस्था भएकाले तत्काल सुचारु गर्न नसकिने राखेप सदस्य सचिव सिलवालले भने ।
“यसअघि हामीले सुरुको फेजमा खेलाडीलाई सेल्फ प्रशिक्षणमा ध्यान दिनुस् भनेका थियौं । त्यसपछि जुमको माध्यमबाट हामीले प्रशिक्षण सुरु गर्यौं । पहिलो चरणमा केही सहजको वातावरण भएपछि हामीले केही व्यक्तिगत विधाका खेलका राष्ट्रिय खेलाडीहरुको प्रशिक्षण सुरु गरेका थियौं,” उनले भने, “तर, पछिल्लो समय फेरि नेपालमा कोरोना संक्रमणको संख्या बढ्ना थाल्यो । संक्रमणको संख्या बढ्न थालेपछि सुरु गरेका प्रशिक्षण पनि केही समयका लागि स्थगित गर्न पुग्यौं । त्यसबीचमा विभागीय टोलीले समेत प्रशिक्षण सुरु गरेका थिए ।”
सदस्य सचिव सिलवालले सरकारको निर्णय मान्नुपर्ने भएकाले तत्काल नेपाली खेलकुद बारे भन्न नसकिने बताए । उनले हाल कुनै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता नहुँदा खेलकुद सुचारुका लागि हतार नभएको बताए । “हाल नेपालका लागि कुनै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता पनि छैनन् । त्यसैले यस्तो अवस्थामा राष्ट्रिय प्रतियोगिता गर्न पनि गाह्रो छ,” उनले भने, “हामीले सरकारको निर्णय पनि मान्नै पर्यो । केही व्यक्तिगत विधाका खेल र विभागीय टोलीसँग यस विषयमा छलफल पनि भइरहेको छ । अवस्था अलि सहज भयो भने हामी प्रशिक्षण पुनः सुरु गर्ने तयारी गरिरहेका छौं ।”
अहिले कुनै पनि संघले तत्काल प्रशिक्षण सुरु गर्छु भन्दा त्यति सहज नहुने उनको भनाइ छ । कोरोना संक्रमण बढेका बेला कुनै खेलाडीलाई संक्रमण देखिए पूरै खेलकुद क्षेत्रमा नै असर पर्ने भएकाले तत्काललाई प्रशिक्षण मात्रै भए पनि सुरु नगरेको सदस्य सचिव सिलवालले बताए । नेपाली खेलकुद हरेक क्षेत्रबाट सबैभन्दा अन्तिम प्राथमिकतामा परेको अवस्थामा यस बेला पनि खेलकुद सरकारको अन्तिम प्राथमिकतामा रहेको उनको बुझाइ छ ।
बाह्रखरीबाट


