पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
Spread the love

काठमाडौँ,साउन ३ (ई–रैवार)

पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दोस्रो पटक विघटन गरिएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले पनुर्स्थापित गरेपछि संसदको आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने लागेको हो ।

सर्वोच्च अदालतको आदेशानुसार मन्त्रिपरिषदको सिफारिसले राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसदका दुबै सदनको अधिवेशन अपराह्न ४ बजेका लागि आह्वान गरेकी हुन् ।

पुनःस्थापित यस प्रतिनिधिसभाले नयाँ प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले विश्वासको मतसमेत लिनु पर्ने भएकाले धेरैको ध्यान अब संसदतिरै छ ।

असार २९ मा प्रधानमन्त्री देउवाले साउन २९ भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मत लिन सके यही सरकारले बाँकी १७ महिनाको संसदको कार्यकाल पूरा गरेर चुनाव गराउनेछ भने विश्वासको मत प्राप्त गर्न नसकेको मुलुक अग्रिम चुनावमा जानेछ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो ।

आइतबारको बैठकमा अघिल्लो सरकारले ल्याएका केही विधेयकहरुलाई प्रक्रियामा लगिने कार्यसूची छ ओली नेतृत्वको सरकारले १६ वटा अध्यादेश जारी गरेको थियो । तीमध्ये बजेटसँग सम्बन्धित अध्यादेश पनि छन् ।

यस्तो छ आजको सम्भावित कार्यसूची

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् । यस्तै राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि पढेर सुनाइनेछ ।

यसअतिरिक्त सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।

शोक प्रस्ताव पेस गर्ने कार्यसूची पनि रहेको संघीय संसद्का महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिए। अधिवेशनको प्रारम्भमा दलका नेताहरुले संसद बैठकलाई सम्बोधन गर्न सक्नेछन् ।