आईपीएल : दिल्लीलाई पराजित गर्दै राजस्थान विजयी

आईपीएल : दिल्लीलाई पराजित गर्दै राजस्थान विजयी
Spread the love

एजेन्सी, वैशाख ३ (ई-रैवार)  

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा राजस्थान  रोयल्सले दिल्ली क्यापिटल्सलाई पराजित गर्दै पहिलो जित हात पारेको छ । बिहीबार राति भएको आइपिएल २०२१ को सातौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्समाथि ३ विकेटको रोमाञ्चक जित हात पारेको हो ।

जितको लागि १ सय ४८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९.४ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्दै जारी पहिलो जित निकालेको छ । राजस्थानलाई अन्तिम ओभरमा जितको लागि १२ रन चाहिँएको अवस्थामा क्रिस मोरिसले दुई छक्का प्रहार गरेपछि रोमाञ्चक जित हात पारेको थियो । मोरिसले टम करनलाई दोस्रो र चौथो बलमा छक्का प्रहार गर्दै जित पक्का गराए ।

मोरिस १८ बलमा ४ छक्का सहित ३६ रनमा अविजित रहे । डेविड मिलरले ४३ बलमा ७ चौका र २ छक्का सहित ६२ रनको महत्वपूर्ण अर्धशतकीय योगदान दिए । राहुल टेवाटियाले १९ रनमा आउट भए । जयदेव उनादकट ११ रनमा अविजित रहे । ओपनर जस बटलर २, मनान बोहरा ९, कप्तान सञ्जु स्यामसन ४ र शिवम दुबे २ रनमा आउट भएपछि राजस्थान समस्यमा परेको थियो ।

तल्लोक्रममा मिलर र क्रिस मोरिसले उच्च प्रदर्शनका साथ राजस्थानलाई हारबाट बचाएका थिए । दिल्लीका आवेश खानले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । क्रिस वोक्स र कागिसो रबाडाले २–२ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो ।

दिल्लीका कप्तान ऋषभ पन्तले ३२ बलमा ९ चौका सहित सर्वाधिक ५१ रनको योगदान दिए । कप्तान ऋषभ पन्तले अर्धशतकीय इनिङ खेल्दा अन्य ब्याट्सम्यानले भने सम्झन लायक प्रदर्शन गर्न सकेनन् । तल्लोक्रममा डेब्यू खेल खेलि रहेका ललित यादवले २०, टम करन २१ र क्रिस वोक्सले १५ रन बनाए । दिल्लीका ६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । ओपनर पृथ्वी शा २, शिखर धवन ९, अजिक्या रहाने ८ र मार्कस स्टोइनिस शून्यमा आउट भए ।

जस्थानको टोलीमा पूनरागमन गरेका तीव्र गतिका बलर जयदेव उनादकटले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । मुश्ताफिजुर रहमानले २ र क्रिस मोरिसले १ विकेट लिए ।

दिल्लीले पहिलो खेलमा चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको थियो । दिल्लीले आइतबार पन्जाबसँग खेल्ने छ । राजस्थान पहिलो खेलमा पन्जाब किंग्ससँग ४ रनले पराजित भएको थियो । सोमबार चेन्नईसँग खेल्ने छ ।