नेकपा सचिवालय बैठक दिउसो ४ बजे बस्ने

नेकपा सचिवालय बैठक दिउसो ४ बजे बस्ने
Spread the love

 

काठमाडौं, भाद्र १८ (ई-रैवार)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक दिउँसो बस्ने भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउसो ४ बजेका लागि सारिएको हो । बैठकमा नेकपा विवाद समाधानका लागि कार्यदलले तयार पारेको प्रतिवेदन र राष्ट्रिय सभामा वामदेव गौतम कि डा. युवराज खतिवडा लैजाने भन्ने विषयमा छलफल हुने भएको छ ।

बैठकमा पार्टी विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलको सुझावलाई अन्तिम रुप दिई पारित गर्नेबारे छलफल हुने बुझिएको छ । यसबारे वृस्तृत छलफल गरी स्थायी कमिटी बैठकमा सहमतिको खाकालाई पारित गर्नेबारे छलफल हुने सचिवालयका एक नेताले जानकारी दिए ।

उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लाने पुरानो निर्णय कार्यान्वयन गर्नेबारे पनि सचिवालयमा छलफल हुने भएको छ । गौतम सरकारबाट सिफारिश भई राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्य बन्न इच्छुक देखिएका छन् । उक्त निर्णय कार्यान्वयनको टुंगो लगाइने गरी छलफल हुने बुझिएको छ ।

बैठकमा मन्त्रिमण्डल पुर्नगठनसम्बन्धी विषयबारे पनि छलफल हुने भएको छ । कार्यदलको सुझावमा यो विषय पनि उल्लेख छ । बैठकमा यी एजेन्डाबारे गम्भीर छलफल गरी स्थायी कमिटी बैठकबाट पारित गराउनेबारे छलफल हुने बुझिएको छ ।

पार्टी एकताका लागि सहमतिको खाकालाई अन्तिम रुप दिनेबारे छलफल केन्द्रित हुने भएकाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठक निकै महत्वपूर्ण हुनेछ ।