काठमाडौं मंसिर । सांसदहरूले चलचित्रकर्मीको सामाजिक सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सोमबार भएको चलचित्र विधेयक, २०८१ माथिको छलफलमा उनीहरूले कानुन निर्माण गर्दा लगानी सुरक्षाका लागि बीमा र चलचित्रकर्मीको सामाजिक सुरक्षालाई समेट्नुपर्ने बताएका हुन् । नीतिगत सुधार गरी चलचित्रलाई अब सरकारले उद्योगका रूपमा विकास गर्नुपर्ने उनीहरूको भनाइ छ ।बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा। लेखजंग थापाले चलचित्रलाई पर्यटन, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको उद्योगका रूपमा विकास गर्नुपर्ने बताए । चलचित्र क्षेत्रमा योगदान गरेका व्यक्तिहरूको संरक्षणका लागि राज्यले प्रभावकारी व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उनले अहिले कलाकारको निधनमा समेत आधारभूत सम्मान र सहयोग नपाउने अवस्था रहेको उल्लेख गरे ।चलचित्र विकास बोर्डलाई हस्तक्षेपमुक्त बनाउनुपर्ने बताउँदै थापाले चलचित्रमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्ने र सेन्सरसिपको बहानामा अनावश्यक हस्तक्षेप गर्न नहुने बताए । बरु बालबालिकाले हेर्न मिल्ने तथा नमिल्ने चलचित्रको स्पष्ट वर्गीकरण गरी उमेरअनुसारको पहुँच सुनिश्चित गर्नुपर्ने उनको सुझाव छ । स्वदेशी चलचित्रको प्रदर्शन र बजार प्रवर्द्धनसम्बन्धी स्पष्ट व्यवस्था ऐनमै समेट्नुपर्ने बताउँदै उनले निश्चित मापदण्डसहित विदेशी लगानीका लागि खुला वातावरण बनाउन सके अन्तर्राष्ट्रिय सहकार्य र चलचित्र पर्यटनको सम्भावना विस्तार हुने धारणा राखे ।चलचित्र विकास बोर्डको स्वायत्ततामा कतैबाट पनि हस्तक्षेप हुनुहुँदैन । अभिव्यक्ति स्वतन्त्रताको संरक्षण हुन जरुरी छ र सेन्सरसिपका नाममा धेरै दुःख दिने काम गर्नुहुँदैन,’ सांसद थापाले भने, ‘नेपाली चलचित्रको संरक्षण र प्रवर्द्धनका लागि कर छुट दिने व्यवस्था गर्नुपर्छ । साथै, चलचित्रकर्मीको सामाजिक सुरक्षा एकदमै जरुरी छ । हामीले राम्रो कानुन बनाएर संरक्षण गर्न सकेनौँ भने कलाकारहरू चपेटामा पर्न सक्छन् ।’नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेशकुमार मल्लले चलचित्र उद्योग र पर्यटन उद्योगलाई एकआपसमा जोडेर अघि बढाउनुपर्ने बताए । सिंगो नेपाललाई खुला चलचित्र स्टुडियोका रूपमा विकास गर्ने राम्रो सम्भावना रहेको उल्लेख गर्दै उनले यसका लागि आवश्यक पूर्वाधार निर्माण, अनुकूल कानुनी व्यवस्था र चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताए । नेपालको बहुसांस्कृतिक विविधता र गौरवशाली इतिहासलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकिने बताउँदै उनले चलचित्रकर्मीको सामाजिक सुरक्षालाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।सिंगै मुलुक नै एउटा खुला स्टुडियोका रूपमा रहेकाले चलचित्र उद्योगको विकास र विस्तार गर्ने धेरै राम्रो सम्भावना छ । अब नेपालको पर्यटन उद्योग र चलचित्र उद्योगलाई आपसमा जोडेर अगाडि बढाउनुपर्ने स्थिति छ,’ सांसद मल्लले भने, ‘यसका निम्ति राज्यले आवश्यक पूर्वाधार र अनुकूल कानुन निर्माण गर्नुपर्छ । चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने नीतिसँगै उनीहरूको सामाजिक सुरक्षाको विषयलाई पनि ध्यान दिनुपर्छ ।’राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले चलचित्रलाई समाज, सरकार र मानव जीवनका बहुआयामिक पक्षलाई जोड्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्ने बताइन् । नेपाली चलचित्र सहज रूपमा उपलब्ध नहुँदा युवापुस्ता तथा बालबालिकाको पहुँच विदेशी चलचित्रतर्फ बढी भएको उल्लेख गर्दै उनले स्वदेशी चलचित्रको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिइन् ।नेपाली चलचित्रले प्रदर्शनका लागि सिनेमा हल नपाउने समस्या रहेको भन्दै कार्कीले स्वदेशी चलचित्रलाई प्रोत्साहन गर्न राज्यले ध्यान दिनुपर्ने बताइन् । उनले चलचित्र निर्माणका क्रममा लगानी गुम्ने जोखिमका कारण निर्माताले हिचकिचाउनुपर्ने अवस्था अन्त्य गर्न बीमाको व्यवस्था गर्नुपर्ने प्रस्ताव समेत गरिन् ।
‘नेपाली चलचित्रलाई हामीले प्रवर्द्धन गर्नुपर्छ र चलचित्र निर्माताहरूलाई बीमाको समेत व्यवस्था गर्न आवश्यक छ,’ सांसद कार्कीले भनिन्, ‘बीमा भयो भने नेपाली चलचित्र निर्माताहरूले ढुक्कसँग चलचित्र निर्माण गर्न सक्छन् । नाफा वा घाटा चलचित्रको प्रदर्शनले निर्धारण गर्ला, तर निर्माण गर्न नै डराउनुपर्ने र जोखिममा रहनुपर्ने स्थितिबाट माथि उकास्न सुरक्षित बीमाको व्यवस्था गर्नुपर्छ ।’
छलफलमा सहभागी सांसदहरूले नेपाली चलचित्रमा देखाइने विषयवस्तुलाई गुणस्तरीय बनाउन राज्यले आवश्यक ध्यान दिनुपर्नेमा समेत जोड दिएका छन् ।



