कैलाशकुमार पाण्डेय
इतिहास सबैको बन्दैन, इतिहास निर्माणका लागि त्याग, बलिदान र समर्पण चाहिन्छ । त्याग, बलिदान र समर्पणको प्रयाय महामानव विशेस्वरप्रसाद कोइराला नेपाली राजनीतिमा अफ्नो युगका सर्वाधिक अग्ला राजनेता र विचारक हुन् । नेपाली राजनीति दुई विचारधाराबाट चलेको पाइन्छ । एउटा राजाको एकतन्त्रीय प्रणाली र अर्को बीपी कोइरालाको प्रतिपादित प्रजातान्त्रिक समाजवादी संसदीय व्यवस्था । समान्यतय सात सालको क्रान्तिपछिका दिनमा बीपी विचारको प्रधानता रह्यो । २००७ सालको क्रान्ति युग परिवर्तनको नयाँ अध्याय थियो । त्यही क्रान्ति पछिको समय आधुनिक युगले परिभाषित हुन्छ । त्यो युगान्तकारी परिवर्तनको नेतृत्व बीपी कोइरालाले गर्नु भएको थियो । क्रान्तिको सुत्रपात भारतिय स्वतन्त्रता संग्राम बाट भएको पाइन्छ ।
देशभित्र पनि राणाविरोधि गतिविधि भइरहेको समय छिमेकी देशमा भएका संग्रामले आन्दोलन सफल पार्न बल पुग्यो । भारतीय स्वतन्त्रता संग्राममा बीपी कोइरालालगायत अन्य राजनेताको प्रत्यक्ष संलग्नताले नेपाली क्रान्तीले निकै उचाई पायो र सफल पनि भयो । आन्दोलन पूर्व नेपाली कांग्रेसको स्थापना भयो । नेपाली कांग्रेसका संस्थापक तथा योजनाकारको श्रेय बीपी कोइरालालाई जान्छ । ऐतिहासिक महत्व बोकेको पार्टीको स्थापना समकालीन समय परिस्थिति बुझेर गरिएको थियो । राष्ट्रियता लोकतन्त्र समाजवाद लाई मुख्य आदर्श मानी स्वतन्त्रता समानता र लोकतन्त्रको मूल्य र मान्यतामा आन्दोलन सफल भएको थियो ।
आन्दोलनको नेतृत्व बीपी कोइरालाको र आन्दोलनको सफलतापछिको राजनीतिक विचारधारा पनि बीपी कोइरालाकै थियो । उनले प्रजातान्त्रिक समाजवादको अवधारणा प्रतिपादित गरेका थिए । आर्थिक,सामाजिक ,राजनीतिक परिवर्तनको आधार थियो । समाजवादी अवधारणा । तत्कालीन समाजवादी नेता राममनोह लोहिया, जयप्रकाश नारायण , आचार्य नरेन्द्रदेवसँगै समाजवादको यात्रा सुरुवात गरेका बीपी कोइरालाले आफ्नो बिचरधारा समेत जोडेको पाइन्छ ।
एक हल गोरु, एउटा दुहुनो गाई, खरकै भएनी छाप्रो,छोराछोरीलाई रहरले पढाउनसक्ने हुनु, बिरामी पर्दा औषधी मुलो गर्नसक्ने ब्यवस्था हरेक नेपालीको हुनु जरुरी छ । समानता हरेक नेपालीको उन्नतिमा खोजेका थिए । बीपी कोइरालाको कुटनीतिक छवि विशिस्ट किसिमको थियो । अमेरिकी राजदूतमार्फत त्यहाँको सरकारलाई सरकार प्रमुख साना ठूला देशका भनी विभेद नहुने सन्देश पठाएका थिए।
मलाई स्वागत गर्न तपाईंको राष्ट्रपती आउँछन-आउदैनन् । यदि आउँदैनन् भने म अमेरिका जान्न । तर्क, विचार र ब्यवहारले विश्वले सम्मान गर्दथ्यो । कुनै समय उत्तरी छिमेकी चीनले सगरमाथा चीनको भनेर दाबी गर्दा तत्कालीन प्रधानमन्त्री बीपि कोइरालाले चीन नै पुगेर त्यहाँका सर्वोच्च नेता माओत्सेतुङ सँग नक्सा नै अगाडि राखेर छलफल गर्ने हिम्मत राखेका थिए । सगरमाथाको दाबी सधैंको लागि चीनले छोडेको इतिहास साक्षी छ । जवहारलाल नेहरुले नेपालको सार्वभौमसत्ता माथि आँच आउने गरी टिप्पणी गरेको भनी यिनै जननायक बीपि कोइरालाको विरोध र दबाबको कारण संसदमा सार्वजनिक रुपमा माफी मागेका थिए । भारतीय राजनेताको बीपी कोइरालाप्रति उच्च सम्मान थियो ।माहात्मा गान्धीसँगको सानिध्यता, डा राजेन्द्र प्रसाद , जवरलाल नेहरु, बल्लवभाइ पटेललगायतका नेताहरुको समकक्षता, अन्तर्राष्ट्रिय समाजवादहरु मध्येको योजनाकार थिए । सोसिलिष्ट इन्टरनेसनलका संस्थापक रहेका बीपी कोइरालाको अन्तर्राष्ट्रिय जगतमा समेत उच्च छवि रहेको थियो, छ पनि ।
संयुक्तराष्ट्रसंघमा नेपालको विचार सहित उपस्थिति बीपी कोइरालाको नेतृत्वकालमा भएको थियो । विभिन्न राष्ट्रसँगग द्वैतसम्बन्ध कायम गरिएको थियो । विश्व राजनीतिमा वैचारिक उपस्थिति भएको थियो । बीपी कोइरालाका हरेक तर्क अनुकरणीय छन् । आदर्श र निष्ठाको पाठ सिकाउँछ्न् । विपि कोइराला उच्च विचारले महामानव बनेका हुन् ।
अहिले पनि त्यत्तिकै सान्दर्भिक छन् । योजना बनाउँदा गरिब किसानलाई हेरि बनाउनु भनेर ग्रामिण क्षेत्रका विपन्न वर्गलाई समेट्ने राज्यको नीति बनाएका थिए । गाउँतिर जाऔं, गाउँलाई हेरौं, जसको जोत उसको पोत, भूमिमाथिको द्वैध स्वामित्व अन्त्य । प्रगतिशील भूमि सुधार शिक्षा, स्वास्थ , उद्योग वाणिज्यका क्षेत्रमा उल्लेख्य कार्य प्रारम्भ भएका उनकै पहल र कार्यकालमा थयो । तत्कालीन अवस्थामा नै समावेशी पार्टी निर्माण गरिएको थियो । धनमान सिंह परियारलाई महामन्त्री , दिमानसिंह राई, राम नारायण सिंह, महेन्द्रनारायण निधि, गणेशमान सिंहजस्ता विभिन्न जातजाति र वर्गका नेता समावेश गरी पार्टी बनाइएको थियो । त्यस्तै सरकार पनि । दक्षिण एसियामै पहिलोपटक महिलाको नेतृत्व सरकारमा गराइएको थियो । बीपी कोइरालालाई साहित्य, राजनीति र दर्शनका त्रिवेणीका रुपमा लिइन्छ ।
बीपी कोइरालाले राजनीति विचारधारा, राजनीति दर्शन प्रस्तुत गरेका थिए । महापुरुषको जन्म सधैं सबै समयमा हुँदैन । सबैमा उत्कृष्ट विचार प्रस्फुटन हुँदैन । राजनीति सामाजिक क्षेत्रका दुर्लभ व्यक्तित्व बीपी कोइराला आफ्नो युगका सर्वाधिक अग्ला राजनेता हुन् । बीपी कोइराला यो देशका मुर्धन्य साहित्यकार पनि हुन् । देशले बीपीबाट प्रजातान्त्रिक समाजवादको दर्शन पाएको छ । आजको नेपाली कांग्रेसले, यही दर्शन अवलम्बन गरेर कांग्रेसको नेतृत्वमा दुई-दुई ओटा शान्तीप्रिय जनआन्दोलन गरेर सफलता समेत हासिल गर्यो ।
२०४६ सालको क्रान्ती सफल बनाएर संविधान दिन सफल भयो । २०४६ सालको संविधानमा पनि राजाको शक्ति बलियो नै थियो दोस्रो जनआन्दोलन पनि नेपाली कांग्रेसकै नेतृत्वमा बीपीका भाई गिरिजा प्रसादको नेतृत्वमा सफल भई देशमा प्रजातन्त्रमात्र नभइ गणतन्त्र बहाली भयो । नेपाली साहित्यको भण्डारमा बीपीका यी गहन, सारगर्भित कृतिहरूले कोशेढुंगा थपेर गएको छ । उनको कलम साहित्यिक क्षेत्रमा अद्वितीयरूपमा चलेको छ । आज नेपाली कांग्रेसका नेताहरू तथा अनुयायीहरूले बीपीले दिएको मार्गदर्शनलाई सही रूपमा व्यवहारमा उतार्न सकेमामात्र बीपीप्रतिको सच्चा आदर भाव सम्मान हुनेछ ।
(लेखक नेपाली कांग्रेस डडेल्धुराका पूर्व उपसभापति हुन् ।)


