लकडाउन अवधिमा २ हजार २ सय १८ ले गरे आत्महत्या

लकडाउन अवधिमा २ हजार २ सय १८ ले गरे आत्महत्या
Spread the love

 

काठमाडौं, साउन १० (ई-रैवार)

कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रणका लागि घोषित लकडाउन अवधिमा देशैभर २ हजार २ सय १८ वटा आत्महत्याका घटना भएका छन् । आत्महत्यासम्बन्धी फरक–फरक तथ्यांक सार्वजनिक भएपछि नेपाल प्रहरीले आफ्नो अभिलेखमा भएका आत्महत्याका घटनाको विवरण सार्वजनिक गरेको हो ।

प्रहरी प्रवक्ता  डीआइजी निरजबहादुर शाहीका अनुसार   ११ चैत २०७६ देखि ४ साउन २०७७ सम्मको एक सय १८ दिनमा भएका आत्महत्याका घटनामध्ये दुई हजार २ सय २ वटा मुद्दा दर्ता गरेको छ  । सबैभन्दा धेरै एक हजार १७२ पुरुषले आत्महत्या गरेको प्रहरी तथ्यांक छ। आत्महत्या गर्नेमा ८ सय ११ महिला, ९४ बालक र १ सय ४१ बालिका छन् ।

सबैभन्दा धेरै झुन्डिएर आत्महत्याका एक हजार ८ सय २८ वटा घटना एका छन्। विष खाएर ३४६, आगो लगाएर आत्महत्याका ४ वटा घटना भएका छन् । औजार तथा हतियारबाट ८, हामफालेर १९ करेन्ट लगाएर एक र डुबेर आत्महत्याका १२ वटा घटना भएको नेपाल प्रहरीले जनाएको छ।

आर्थिक वर्ष ०७५÷७६ को ०७५ चैत १ देखि २०७६ असार ३१ गतेसम्म आत्महत्याका दुई हजार २ सय ६७ घटना भएका थिए। सबैभन्दा धेरै झुन्डिएरै एक हजार ७२८ ले आत्महत्या गरेका थिए । विष खाएर ५ सय , आगो लगाएर ६, औजार तथा हतियारबाट ६, हामफालेर १७ र डुबेर १० जनाले आत्महत्या गरेका थिए ।

सबैभन्दा धेरै एक हजार २ सय ३२ पुरुष, ८ सय ४२ महिला, ९५ बालक र १ सय ५ बालिकाले आत्महत्या गरेका थिए । प्रहरीले लकडाउनमा भएका आत्महत्याका घटना र अघिल्लो आर्थिक वर्षको चैतदेखि असारसम्मको तुलनामा मुद्दा दर्ताको संख्या २ सय १६ प्रतिशतले कमी आएको बताएको छ ।

मुद्दा कम दर्ता भएको प्रहरीको तथ्यांकले देखाएपनि घटना भने लकडाउनको समयमा धेरै भएको देखिन्छ । प्रहरी प्रवक्ता डीआइजी निरजबहादुर शाही नेपाल प्रहरीले आत्महत्याको रोकथाम र न्यूनीकरणका लागि स्थानीय तह र सरोकारवाला निकायहरुसँग समन्वय गरेर जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताउँछन् ।

आत्महत्यासम्बन्धी घटनाको प्रभावकारी ढंगले छानबिन तथा अनुसन्धान गर्न प्रहरी कार्यालयहरुलाई परिपत्रसमेत गरिएको छ । प्रहरीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभाग एवं मनोसामाजिक परामर्श दिने विभिन्न संघसंस्थासँग समन्वय गरेर आत्महत्या रोकथाम तथा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

समुदाय प्रहरी साझेदारी अवधारणाअन्तर्गत आत्महत्या गर्न सक्ने लक्षित वर्गको पहिचान गरी आत्महत्या न्यूनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको प्रवक्ता शाहीले बताए ।