सार्वजनिक यातायात चलाउन यातायात व्यवसायीहरु तयार

सार्वजनिक यातायात चलाउन यातायात व्यवसायीहरु तयार
Spread the love

 

काठमाडौं, साउन  ३  (ई-रैवार)

सार्वजनिक यातायात चलाउन यातायात व्यवसायीहरु तयार भएका छन । शुक्रबार आएको मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बाधेन गरेको भन्दै यातायात व्यवसायीहरु सार्वजनिक यातायात चलाउन तयार भएका हुन ।

यातायात व्यवसायीका छाता संगठनहरुले विभिन्न माग राख्दै सवारी नचलाउने निर्णय गरेका थिए । तर शुक्रबार आएको मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बाधेन गरेको भन्दै यातायात व्यवसायीहरुले बताएका छन ।

केही दिनभित्रै सार्वजनिक सवारीहरु चल्न सुरु गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।
सरकारले असार २६ गतेबाट काठमाडौं उपत्यकामा तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सिट क्षमताको आधा यात्रु राखेर सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको थियो ।

बैंकको किस्ता सार्नुपर्ने, सुहलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग सम्बाधेन भएकाले सार्वजनिक सवारी चलाउन अब सहज अवस्था बनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले बताए ।

अब मौद्रिक नीतिले गरेका व्यवस्थाबारे थप स्पष्ट हुँदै थन्किएका बसहरु चलाउन तयारी पनि सँगसँगै गरिने व्यवसायीले बताएका छन । महासचिव सिटौलाले २–३ दिनभित्रै सार्वजनिक सवारीहरु चलाउनेबारे निर्णय हुने बताए । ‘यात्रुलाई हात धुने व्यवस्था कहाँ–कहाँ कसरी गराउने र यात्रुको भिड हुन नदिन बस स्टपहरुको व्यवस्थापन कसरी गर्ने भन्ने लगायतका विषयमा यातायात व्यवस्था विभागले स्पष्ट गरेपछि हामी सवारी चलाउँछौं,’ उनले भने ।

सरकारले सार्वजनिक सवारीमा एउटा पंक्तिको एउटा सिटमा एक यात्रु मात्रै बस्ने मापदण्ड तोकेको छ । सरकारले यसरी सवारी चलाउँदा घाटा हुन नदिन यात्रुबाट साविककोभन्दा थप ५० प्रतिशत बढी भाडा लिन पाइने व्यवस्था पनि गरेको छ ।

तर अझै मापदण्डबारे थप स्पष्ट गर्न जरुरी रहेको महासचिव सिटौलाले बताए । कोरोना समुदायमा फैलिएर सार्वजनिक यातायातलाई अपजस नआउने गरी स्वास्थ्य मापदण्ड बन्नुपर्ने र सबैको जिम्मेवारी स्पष्ट गर्नुपर्ने उनले बताए ।

सहज वातावरण सहज बने साउन ७ गतेबाट लामो दूरीको यातायात पनि सञ्चालन गर्न सकिने व्यवसायीहरुको तर्क छ । यद्यपि सरकारले यसबारे केही भनेको छैन ।

यातायात व्यवस्था विभागले भने सार्वजनिक सवारी सञ्चालनका लागि ‘एक्सन प्लान’ बनाएर अघि बढ्ने बताएको छ । सवारी सञ्चालन गर्दा कुन जिम्मेवारी कुन निकायले लिने भन्ने स्पष्ट गरेर अघि बढ्ने विभागको योजना छ ।