धनगढी असार १५(ई-रैवार)
नेपालमा हरेक वर्ष असार १५ गते ‘राष्ट्रियधान दिवस’ मनाईन्छ । यसवर्ष सोमबार(आज) खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदैछ ।
विसं २०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो ।
यस वर्ष कोरोना महामारीका बाबजुद पनि धान दिवस मनाइँदै छ । कृषि अनुसन्धान परिषदको परिसरमा व्यक्तिगत दुरी कायम राखी धान दिवस मनाइने कृषि विभागले जनाएको छ ।
मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन्।
यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।


