चीनद्वारा अतिक्रमित भूमि फिर्ता ल्याउन कांग्रेसको संकल्प प्रस्ताव

चीनद्वारा अतिक्रमित भूमि फिर्ता ल्याउन कांग्रेसको संकल्प प्रस्ताव
Spread the love

काठमाडौं असार ११(ई-रैवार)

भारतले अतिक्रमण गरेको लिम्पियाधुरालगायत भूमि मिचेको प्रसंगले समय तातिरहेका वेला उत्तरी छिमेकी चीनले समेत भूमि अतिक्रमण गरेका समाचार बाहिर आएका छन् ।

चीनले हुम्ला, सिन्धुपाल्चोक, संखुवासभा, गोरखा र रसुवाका ६४ हेक्टरभन्दा बढी भूभाग अतिक्रमण गराको खबर छ ।

सोही अनुसार चीनले अतिक्रमण गरेको भूमि पनि फिर्ता ल्याउनुपर्ने मागसहित प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ ।

कांग्रेसका तर्फबाट नेताहरु देवेन्द्रराज कँडेल, सत्यराम शर्मा खनाल र सञ्जयकुमार गौतमले बुधबार सो संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

नेपालको भौगोलिक, राजनीतिक नक्साअनुसार नेपाल र चीनबीच १४१४.८८ किलोमिटर सिमाना रहेको र ९८ वटा सीमा स्तम्भमध्ये केही हराएका र केही नेपालभित्र सारिएको उल्लेख गर्दै उनीहरुले सो फिर्ता ल्याउन माग गरेका छन् ।

गोरखाको सिमानामा पर्ने ३५, २७ र ३८ नम्बर सीमा स्तम्भ र सोलुखुम्बु सीमाको ६२ नम्बर सीमा स्तम्भ हराएको भन्दै चीनले अतिक्रमण गरेका नेपाली भूभाग कूटनीतिक पहलबाट फिर्ता ल्याउन माग गरिएको छ ।