शिखर नगरपालिकाको बजेट:‘एक घर एक रोजगारी’को व्यवस्था

शिखर नगरपालिकाको बजेट:‘एक घर एक रोजगारी’को व्यवस्था
Spread the love

डोटी असार ११(ई-रैवार)
शिखर नगरपालिका डोटीले आगामी आथिक वर्षमा ‘एक घर, एक रोजगारी’को व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ल्याएको वार्षिक नीति तथा कार्यक्रम र बजेटमार्फत नगरपालिकाले एक घर एक रोजगारी कार्यक्रमको घोषणा गरेको छ ।
नगरपालिकामा उपमेयर धौलीदेवी रावलले पेश गरेको बजेट प्रस्तुत गर्दै कार्यपालिका सदस्य ऋषीराज जोशी ‘प्रत्येक घरमा कम्तीमा ‘एक घर एक रोजगार’ सिर्जना गर्न गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी कार्यक्रम लागु गरिने’ कुरा उल्लेख गरे ।
यस्तै कोभिड–१९ पश्चात रहने उच्च बेरोजगारीलाई सम्बोधन र रोजगारी सृजना गर्दै जनशक्तीको बर्गिकरण गरि आवश्यक सीप दिई दक्ष र अदक्ष जनशक्तीलाई भौतिक पूर्वाधार निर्माण कार्यमा प्रयोग गरिने कार्यक्रममा उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रममा कोभिड–१९ को संक्रमण प्रभावबाट स्वदेश एवं विदेशबाट रोजगारी गुमाएका नागरिकहरुलाई लक्षित गरि कृषि तथा पशु पंछी विकास कार्यक्रम मार्फत स्वरोजगारमा जोड दिईने उल्लेख छ ।
यस्तै जारी कोभिड–१९को प्रकोपसंग जुध्न नगरपालिका भित्र कम्तीमा ५० बेड क्षमता भएको आइसोलेसन कक्ष तयार गरिने जनाईएको छ । यसको रोकथाम नियन्त्रण गर्नका लागि प्रत्येक वडाका सबै टोलहरुमा जनचेतना जगाउन निर्वाचित जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मीहरु, महिला स्वस्थ्य स्वयं सेविका, यूवा स्वयंसेवकहरु परिचालन गरिने उल्लखे छ ।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै ‘म स्वस्थ, मेरो नगर स्वस्थ’ अभियान सञ्चालन गर्ने, नगरपालिका भित्र कम्तीमा १५ शैया सम्मको नगर अस्पताल निर्माणका लागि आवश्यक पहल गर्ने लगायतका नीतिहरुमा नगरपालिकाले जोड दिएको छ ।
नगरसभामा नगरकार्यपालिका एबं वडा सदस्य जोशीले आगामी आर्थिक वर्षका लागि ५३ करोड ४५ लाख, ४८ हजारको बजेट प्रस्तुत गरेका थिए ।