लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका पाण्डेय निर्वाचित

Spread the love

दाङ, जेठ १७ (ई-रैवार) 

राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन्। कांग्रेसका उम्मेदवार पाण्डेयले नेकपा एमालेका उमेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् ।

कांग्रेसका उम्मेदवार पाण्डेको ४१४० मतभार र एमालेका उमेदवार खड्काको ३६१२ मतभार रहेको छ । पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन् । प्रदेशतर्फ १ र स्थानीय तर्फ २ मत बदर भएको छ । निर्वाचन आयोगले औपचारिक घोषणा केहीबेरमा गर्दैछ ।

विजयी पाण्डेय हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिएर नेपाली कांग्रेस प्रवेश गरेका थिए । उनी माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार बनेका थिए । खड्कालाई एमाले सहित जसपाको महन्थ ठाकुर पक्षको साथ थियो ।

यसअघि जेठ ६ मा बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा पनि एमालेका उम्मेदवार पराजित भएका थिए । एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई काँग्रेस माओवादीसहितको गठबन्धनको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका खिमलाल देवकोटाले पराजित गरेका थिए । यससँगै उप निर्वाचनबाट एमालेलाई नराम्ररी झट्का लागेको छ ।