डोटी असार ६(ई-रैवार)
धारामा छोडिएको करेन्ट लागेर आदर्श गाउँपालिकामा एक महिलाको ज्यान गएको छ । आदर्श गाउँपालिका–७ की २६ वर्षीया तुल्सी थापा(बाग)को शनिबार मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सोही ठाउँका १८ बर्षीय सुर्ज किमाडीले धारामा करेन्ट छाडेका थिए । प्रहरीको प्रारम्भिक बयानमा उनले सो कुरा स्विकार गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर मल्लले जानकारी दिए । उनले भने, ‘धारामा कोरोना संक्रमित आउछन् भनेर करेन्ट छोडेको स्विकारेका छन् ।’
प्रहरीका अनुसार घटना शनिबार दिउँसोको हो । प्रहरीले जनाएअनुसार पानी ट्याङ्की नजिकै किमाडीको घर छ । सोही ठाउँमा एक सार्वजनिक धारा जोडिएको धारा छ । सोही धारामा घटना भएको हो । ‘दिउँसो घरमा एक्लै रहेछन् । त्यसक्रममा पुगेसम्म विद्युत तार र नपुगेपछि ग्याविन तार जोडेर धारामा जोडेछन्,’ प्रहरी नायब उपरीक्षक मल्लले भने,‘त्यसपछि पानी भर्न आएकी तुल्सीलाई करेन्ट लागेर बेहोस भएको प्रारम्भिक अनुसन्धानले देखाउछ ।’
घटनापछि किमाडीलाई ईलाका प्रहरी कार्यालय आदर्शले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याईरहेको र घटनाको थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक मल्लले बताए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटी ल्याईदैगरेको उनले जनाए ।
कोरोना संक्रमित आउछन भन्दै धारामा छाडेको करेन्टले महिलाको मृत्यु


