कर्णाली प्रदेशमा थपिए १२ जना कोरोना संक्रमित, प्रदेशमा संक्रमितको संख्या २३ पुग्यो

कर्णाली प्रदेशमा थपिए १२ जना कोरोना संक्रमित, प्रदेशमा संक्रमितको संख्या २३ पुग्यो
Spread the love

सुर्खेत जेठ १३(ईरैवार)

कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । योसंगै कर्णाली प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुगेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार नयाँ संक्रमित मध्ये प्रदेश राजधानी वीरेन्द्रनगरका आठ, भेरीगंगा नगरपालिकामा दुई र सिम्ता गाउँपालिकाका दुई जना छन्। उनीहरु सबै भारतबाट केही दिनअघि कर्णालीमा भित्रिएका हुन् ।

कोरोना संक्रमित १२ जनालाई कोरोना विशेष अस्पताल कालागाउँमा राखिएको छ। सबैको स्वास्थ्य अवस्था सामान्य रहेको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए। कर्णालीमा हालसम्म कोरोना संक्रमितको संख्या २३ पुगेको छ। यि मध्ये दैलेखका आठ जना छन् भने बाँकी सुर्खेतका हुन्।