काठमाडौं फागुन। पछिल्लो समय वाणिज्य बैङ्कहरूको मुद्दती निक्षेपमा प्रतिफल घट्ने क्रम जारी छ । फागुन १ देखि लागु हुने गरी वाणिज्य बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपको औसत ब्याजदरमा कमी आएको छ ।
माघमा ४.६८४५ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर फागुनमा ०.११५५ प्रतिशत विन्दुले घटेर ४.५६९ प्रतिशतमा झरेको छ । संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत दर पनि समीक्षा अवधिमा ०.०५१५ प्रतिशत विन्दुले घटेको छ ।फागुनका लागि सबैभन्दा बढी ब्याजदर कटौती गर्ने बैङ्कमा ग्लोबल आइएमई बैङ्क रहेको छ । ग्लोबलले माघमा ५.५ प्रतिशत रहेको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.७५ प्रतिशत विन्दुले घटाएर ४.७५ प्रतिशत कायम गरेको छ ।
यसै गरी सिद्धार्थ, एभरेस्ट, नेपाल एसबिआई, प्राइम कमर्सियल र कृषि विकास बैङ्कले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएर ४.२५ प्रतिशत कायम गरेका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले ४.२५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा र सानिमाले ४.५ प्रतिशत तथा ग्लोबल आइएमईले ४.७५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।यता माघकै ब्याजदरलाई निरन्तरता दिने बैङ्कमा कुमारी, सिटिजन, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल, प्रभु, एनएमबि, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य बैङ्क, हिमालयन बैङ्क र नेपाल बैङ्क रहेका छन् ।
नेपाल बैङ्कले फागुनमा पनि व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ५.१ प्रतिशत ब्याजदर दिने भएको छ । कुमारीले ४.४३ प्रतिशत, सिटिजन र लक्ष्मी सनराइजले ४.५ प्रतिशत तथा अन्य केही बैङ्कले पाँच प्रतिशत दर कायम राखेका छन् ।
संस्थागत मुद्दती निक्षेपतर्फ अधिकतम चार प्रतिशत ब्याजदर कायम रहेको छ । हिमालयन बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क एनआइसी एसिया बैङ्क र एनएमबी बैङ्कले उक्त दरमा ब्याज उपलब्ध गराउने जनाएका छन् ।


