सेयर किन्न ब्रोकरले ऋण दिन पाउने व्यवस्था आजदेखि लागू हुँदै

सेयर किन्न ब्रोकरले ऋण दिन पाउने व्यवस्था आजदेखि लागू हुँदै
Spread the love

काठमाडौं फागुन। अब धितोपत्र ब्रोकरहरूले पनि लगानीकर्तालाई सेयर खरिदका लागि ऋण दिन पाउने भएका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मंगलबार ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका २०८२’ जारी गरेको थियो  ।

उक्त निर्देशिका आज १ फागुन अर्थात् शुक्रबारदेखि कार्यान्वयनमा ल्याउन निर्देशन जारी गरेको छ ।

मार्जिन कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउन सूचीकृत कम्पनीहरूका लागि धितोपत्र बोर्डले कडा मापदण्ड तोकेको छ । गत सोमबार बसेको बोर्ड सञ्चालक समिति बैंठकले मार्जिन कारोबारसम्बन्धी २०७४ सालको पुरानो निर्देशिका खारेज गर्दै नयाँ जारी गरेको हो । निर्देशिकाले लगानीकर्ताले धितोपत्र दलाल व्यवसायी ९ब्रोकर० मार्फत ऋण सुविधा लिएर सेयर किन्न पाउने बाटो औपचारिक रूपमा खोलिदिएको छ । कम्तीमा २५ लाख कित्ता साधारण सेयरमा नेप्सेमा सूचीकृत भएको कम्पनीको सेयरमा मात्र मार्जिन सुविधा हुनेछ । प्रतिसेयर नेटवर्थ चुक्ता पुँजीभन्दा बढी वा बराबर हुनुपर्ने र पछिल्लो तीन वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफा कमाएको हुनुपर्ने सर्त पनि राखिएको ।छ । आईपीओ सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था पनि निर्देशिकामा उल्लेख छ ।

मार्जिन कारोबारअन्तर्गत लगानीकर्ताले सेयर किन्नुअघि कुल लगानी रकमको कम्तीमा ३० प्रतिशत प्रारम्भिक मार्जिनका रूपमा ब्रोकरकहाँ जम्मा गर्नुपर्नेछ । कारोबार अवधिभर बजारको उतारचढावलाई ध्यानमा राख्दै लगानीकर्ताले न्यूनतम २० प्रतिशत मार्जिन कायम राख्नुपर्ने व्यवस्था गरिएको छ । सेयरको मूल्य घटेर यो सीमाभन्दा तल पुगेमा ब्रोकरले ‘मार्जिन कल’ गर्नेछ ।

तोकिएको समयमा थप रकम वा सेयर जम्मा नगरेमा ब्रोकरलाई सेयर बिक्री गरी आफ्नो लगानी असुल गर्ने अधिकार हुनेछ । पारदर्शिता सुनिश्चित गर्न ब्रोकरले दैनिक रूपमा बजार मूल्यका आधारमा ‘मार्क–टु–मार्केट’ प्रणाली अनुसार मार्जिन हिसाब गर्नुपर्ने निर्देशकामा उल्लेख छ । यसका लागि ब्रोकरहरूले आफ्नै स्रोत वा बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्नेछन्, तर यस्तो ऋण उनीहरूको नेटवर्थको ४।५ गुणाभन्दा बढी हुन नहुने सीमा निर्देशिकामा निर्धारण गरिएको छ ।

बजारको पारदर्शिता र सुरक्षाका लागि मार्जिन कारोबारका लागि छुट्टै खाता र डिम्याट खाता खोल्नुपर्नेछ । दैनिक कारोबारको विवरण भोलिपल्टै नेप्सेलाई बुझाउनुपर्ने र नेप्सेले उक्त विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान निर्देशिकामा राखिएको छ । यो प्रणाली पूर्ण रूपमा लागू भएपछि साना तथा मध्यम लगानीकर्ताले थप पुँजी परिचालन गर्न पाउने, ब्रोकरहरूले ब्याजमार्फत आम्दानीका नयाँ स्रोत प्राप्त गर्ने र समग्र सेयर बजारमा तरलता तथा सक्रियता बढ्ने धितोपत्र बोर्डले जनाएको छ ।

निर्देशिकामा मार्जिन कारोबार सुविधा प्रदान गर्ने धितोपत्र ब्रोकरको योग्यता पनि तोकिएको छ । यसअनुसार मार्जिन कारोबार सुविधा प्रदान गर्न चाहने बोर्डबाट अनुमतिपत्र प्राप्त गरेका ब्रोकरको चुक्ता पुँजी न्यूनतम २० करोड रुपैयाँ भएको, राफसाफ सदस्यता प्राप्त गरेको र निक्षेप सदस्य वा निक्षेप सदस्य कम्पनीको सेयरधनी रहेको वा सहायक कम्पनीको रूपमा रहेका धितोपत्र दलाल व्यवसायीको मुख्य कम्पनीले निक्षेप सदस्यता प्राप्त गरेको हुनुपर्नेछ ।यस्तै मार्जिन कारोबारका लागि धितोपत्र बजारको सहमति लिनुपर्ने व्यवस्था पनि छ । जसमा ब्रोकरले लगानीकर्तालाई मार्जिन कारोबार सुविधा दिनुअगावै लेखापरीक्षकबाट प्रमाणित वित्तीय विवरणसहित धितोपत्र बजारमा सहमतिका लागि निवेदन पेस गर्नुपर्नेछ ।

यस्तै निर्देशिकामा लगानीकर्ताले सम्भार मार्जिन कायम गर्न नसके धितोपत्र दलाल व्यवसायीले लगानीकर्तासँग उक्त मार्जिन कायम गर्न आवश्यक रकम बराबरको धितोपत्र बजारमा सूचीकृत ‘ए’, ‘बी’ र ‘जी’ वर्गमा रहेका संगठित संस्थाको सेयर धितोका रूपमा लिन सक्ने व्यवस्था छ । उक्त सेयरको मूल्य गणना गर्दा बजार मूल्यको ६० प्रतिशतले हुन आउने मूल्यलाई मात्र गणना गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

‘सेयरको बजार मूल्यमा हुने परिवर्तनका कारण सम्भार मार्जिन कायम हुन आए उपदफा ५ बमोजिम धितोमा राखिएको सेयर लगानीकर्ताको अनुरोधमा धितोपत्र दलाल व्यवसायीले फुकुवा गरिदिनुपर्नेछ,’ निर्देशिकामा भनिएको छ, ‘मार्जिन कारोबार सुविधा दिन धितोपत्र दलाल व्यवसायीको आर्थिक स्रोतका हकमा धितोपत्र दलाल व्यवसायीले आफ्नै स्रोतबाट, बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर र आफ्नो सेयरधनी वा सञ्चालकसँग असुरक्षित ऋण लिएर मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्नेछ ।’

तर धितोपत्र दलाल व्यवसायीले सेयरधनी वा संचालकसँग असुरक्षित ऋण लिँदा प्रचलित कम्पनीसम्बन्धी कानुनमा भएको व्यवस्था पालना गर्नुपर्नेछ । धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा प्रदान गर्न बैंक तथा वित्तीय संस्थासँग लिएको ऋण र आफ्नो सेयरधनी वा सञ्चालकसँग लिएको असुरक्षित ऋण धितोपत्र दलाल व्यवसायीको नेटवर्थको ४.५ गुणाभन्दा बढी हुन नहुने पनि निर्देशिकामा उल्लेख छ ।