पौडेल र प्रचण्ड बिच भेटघाट : एमसीसीका कारण गठबन्धन टुट्दैन- प्रचण्ड

Spread the love

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच भेटघाट गएको छ । सोमबार सिंहदरबारमा कांग्रेस वरिष्ठ नेता पौडेलसँग भएको भेटमा प्रचण्डले एमसीसीका कारण गठबन्धन नटुट्ने बताएका छन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलसँग भएको भेटमा उनले एमसीसी संसदीय प्रक्रियामा रहेको र त्यही टुंगो लाग्ने बताए । साथै उनले पाँचदलीय गठबन्धन नटुट्ने समेत बताएका हुन् ।

कांग्रेस वरिष्ठ नेता पौडेलसँगको भेटपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले एसीसी तथा गठबन्धनबारे कुरा भएको र आफूले गठबन्धन टुट्दैन भनेर विश्वास दिलाएको बताएका छन् ।

त्यस्तै छलफलपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने बताएका थिए । एमसीसी अनुमोदनका लागि समर्थन जुटाउन पौडेलले एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायत दलका शीर्ष नेताहरूसँगको भेटघाट गरेका हुन् ।

कांग्रेस नेता पौडेलले मुलुकलाई निकास दिन सबै मिलेर अघि बढ्नुपर्ने आफ्नो जोड रहेको बताए । उनले एमसीसीलाई सफल बनाउन छलफल चलाएको जानकारी दिए ।