प्रधानमन्त्री कप क्रिकेट : आज दुई खेल हुने

Spread the love

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुने भएको छ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश–१ विरुद्ध खेल्दैछ भने दोस्रो खेलमा लुम्बिनीले गण्डकी प्रदेशविरुद्ध खेल्दैछ ।

दुबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । समूह ‘ए’ मा सुदूरपश्चिमले ३ खेलबाट २ अंक जोडेर तेस्रो स्थानमा छ । प्रदेश–१ ले भने दुई खेलबाट १ अंक जोडेर पुछारमा रहेको छ । प्रदेश–१ का खेलाडीमा कोभिड–१९ संक्रमण देखिएका कारण नेपाल पुलिसविरुद्धको खेल स्थगित भएको थियो । पछि एकजनामा मात्र संक्रमण देखिएको प्रदेश–१ का व्यवस्थापकले जनाएका छन् ।

नेपाल पुलिस र प्रदेश–१ बीचको खेल सोमबार हुनेछ । समूह ‘ए’बाट नेपाल पुलिसले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । पाँच अंक जोडेर दोस्रो त्रिभुवन आर्मी क्लब पनि सेमिफाइनल नजिक छ । त्रिभुवन आर्मी रोकिनका लागि प्रदेश–१ ले बाँकी सबै खेल राम्रो रनरेटमा जित्नुपर्छ ।