काँग्रेस सभापति देउवाद्वारा पौडेलसहित ३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन

Spread the love

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले हालै सम्पन्न महाधिवेशनमा पराजित तीन नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । देउवाले जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।

सभापति देउवाले काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम शाही, पौडेल र गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उनीहरु तीनै जना १४ औं महाधिवेशन पदमा पराजित भएका थिए । गुरुङ सभापतिमा, पौडेल महामन्त्रीमा र शाही सहमहामन्त्री पदमा उम्मेदवार थिए । 

सभापति देउवाले यसअघि नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका थिए । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव पौडेलका अनुसार देउवाले पौडेलसगै विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

नेता पौडेल, सिटौला, खड्का, रेग्मी र विश्वकर्माले महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी दिएका थिएनन् । निधि र सिंह सभापातिका उम्मेदवार थिए । दोस्रो चरणको निर्वाचनमा दुबैले देउवालाई समर्थन गरेका थिए ।

गच्छदार र कोइराला उपसभापतिमा पराजित भएका हुन् भने महत महामन्त्रीमा पराजित भएका थिए ।

कांग्रेस विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्ने प्रावधान छ । महाधिवेशनबाट १३४ जना निर्वाचित भएका हुन् भने सभापतिका निकटम प्रतिस्पर्धी स्वत: केन्द्रीय सदस्य हुने विधानको व्यवस्था छ ।