काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह सुरु भएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा सो पार्टीको महाधिवेशन उद्घाटन समारोह सुरु भएको हो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी महाधिवेशन उद्घाटन समारोहमा विभिन्न दलका नेताहरू सहभागी भएका छन् । माओवादीले यसअघि राष्ट्रिय सम्मेलन भने पनि अन्तिम समयमा आएर सम्मेलनलाई महाधिवेशनमा परिणत गरेको हो ।

महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवा महाधिवेशनस्थल पुगेका छन् ।
यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि पुगेका छन् । जनता समाजावदी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की महामन्त्री कुन्ति शाहीलगायत नेताहरू उद्घाटन समारोहमा अतिथिका रूपमा पुगेका छन् ।

महाधिवेशनले केन्द्रीय कमिटीसहित पदाधिकारी र नयाँ नेतृत्व चयन गर्नेछ । माओवादीको पदाधिकारी १५ सदस्य रहने प्रस्ताव गरिएको छ । जसमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष तथा ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहनेछन् । यस्तै केन्द्रीय सदस्य २९९ सदस्यीय रहने भनिए पनि केही सङ्ख्या बढाउन आइतबार बसेको केन्द्रीय कमिटी कमिटी बैठकले प्रस्ताव गरेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

नेपालको संविधानमा नै उल्लेख गरिएको समाजवाद उन्मुख भन्ने प्रावधानलाई समेट्ने गरी नयाँ वैचारिक राजनीतिक कार्यदिशा र योजना समेत तय गर्ने माओवादीले स्पष्ट पारेको छ । महाधिवेशनमा देशभरका सातवटै प्रदेश र तीनवटा गैर भौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण सहभागी भएका छन् ।
५ दिनसम्म चल्ने महाधिवेशनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका लिखित दस्ताबेज पेस हुनेछन् । ती प्रतिवेदनमाथि विभिन्न २० वटा समूह बनाएर छलफल गर्ने कार्यक्रम तयार भएको छ । त्यसमा आवश्यकताअनुसार केही परिवर्तन पनि हुन सक्नेछ । माओवादीले प्रज्ञा प्रतिष्ठानका सबै हल र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सामूहिक छलफलको व्यवस्था मिलाएको छ ।


