काठमाण्डौं : नेपालमा आज थप २९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र ४ हजार ६ सय १६ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जनागरी २९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार २२७ पुगेको छ । पछिल्लो २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन् । योसँगै ८ लाख ९ हजार ३८७ जना संक्रमणमुक्त भएको जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २४२ जना रहेका छन् । जसमध्ये ४ हजार ९९३ जना होम आइसोलेसनमा रहेका छन् भने २४९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ९५ जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १८ जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५७७ पुगेको छ ।


