काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधका बाबजुद संसद्को आजको बैठक सम्पन्न भएको छ । बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घेर्दै नाराबाजी गरेका थिए ।
एमालेले आफूले कारबाही गरेका सांसदहरू बैठकमा उपस्थित भएसम्म बैठक सञ्चालन गर्न नदिने नीति लिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनमा अवरोध नगर्न पटक पटक आग्रह गरे पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका थिए ।
आजको संसद् बैठकले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८ बहुमतले स्वीकृत गरेको छ ।
यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेशमाथि सांसद प्रेम सुवालले विरोधको सूचना पेश गरेका थिए । तर उनको प्रस्ताव बहुमतले अस्वीकार भयो ।
संसद्को अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको छ ।


