काँग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता उपर दाबी विरोध र जाँचबुझ सुरु, १३ पदाधिकारीका लागि ३९ जनाको उम्मेदवारी दर्ता

Spread the love

काठमाडौँ :

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ सुरु भएको छ । काँग्रेसको महाधिवेशनको दोस्रो दिन शनिबार बिहान १० बजेदेखि सुरु भएको उम्मेदवारी दर्ता साँझ ५ बजे सकिएको हो ।

उम्मेदवारी दर्ता प्रक्रिया सकिएसँगै उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ कार्यक्रम सुरु भएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझका लागि आजै साँझ ५ देखि ७ बजेसम्मको समय तोकिएको छ ।

त्यस्तै बेलुका ७ देखि ९ बजेसम्ममा दाबी विरोध उपर निर्णय हुनेछ । काँग्रेसको जारी महाधिवेशनमा सभापतिका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहित छ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

शनिबार बिहान ११ बजेपछि साँझ ५ बजेसम्म पदाधिकारीमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठसहित १३४ सदस्य पदका लागि मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको थियो।

१३ पदाधिकारीका लागि ३९ जनाले उम्मेदवारी दर्ता गरेका छन्। मनोनयनका लागि दिएको समयमा एक सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेसहित ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै २ उपसभापतिका लागि पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, धनराज गुरुङ, चन्द्र भण्डारी, महेश आचार्य, दिव्यश्वरी साह र सुजाता कोइरालासहित ७ जनाले उम्मेदवारी दिएका छन् ।

यसैगरी २ महामन्त्रीका लागि प्रकाशशरण महत, प्रदीप पौडेल, मिनेन्द्र रिजाल, गगनकुमार थापा, विश्वप्रकाश शर्मा र राजाराम कार्कीसहित ६ जनाले उम्मेदवारी दिएका छन् ।

सह-महामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, सुरेन्द्रप्रसाद चौधरी, देवराज चालिसे, रञ्जित कर्ण, रामकृष्ण यादव, कमल पन्त, तेजुलाल चौधरी, किशोरसिंह राठोर, विकास लामा, जीवन परियार, गंगा सुनार, महेन्द्र यादव, भिष्मराज आङ्दम्बे, जीवनबहादुर शाही, चेतराज बजाल, शेष वकिल र उमाकान्त चौधरीले उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै खुला केन्द्रीय सदस्यमध्ये थारूमा १४ जना, मधेसीमा ३२, आदीवासी जनजातीमा ८७, खस आर्य ९३, दलित ३९, महिला ३१, पिछडिएको क्षेत्र २, अपाङ्ग १६, अल्पसंख्यक ६, मुस्लिम १६, प्रदेश १- १३, प्रदेश २- ५, बागमती ९, गण्डकी ७, लुम्बिनी ११, कर्णाली ७, सुदूरपश्चिम १२ र खुला १०९ जनाले उम्मेद्‍वारी दर्ता गराएका छन्।

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्न ५०९ जनाले उम्मेदवारी दर्ता गरेका छन्। खुलासहित १८ कलस्टरबाट निर्वाचनमार्फत १२१ जना निर्वाचित गरिने कांग्रेसको विधानमा उल्लेख छ।

थारू कलस्टरबाट निर्वाचित हुने दुई महिलासहित चार सदस्यका लागि १४ जनाको उम्मेदवारी परेको छ भने खुलातर्फबाट निर्वाचित हुने ३५ जनाका लागि १०९ जनाको उम्मेदवारी परेको छ। 

काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेशी कलस्टरबाट निर्वाचित हुने चार महिलासहित ९ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको छ। 

७ महिलासहित १५ जनाको कोटा रहेको आदिवासी जनजाति कलस्टरमा ८७ जनाको उम्मेदवारी परेको छ भने ६ महिलासहित १३ जनाको कोटा रहेको खसआर्य कलस्टरमा ९३ जनाको उम्मेदवारी परेको छ। 

चार महिलासहित नौ दलित सदस्यका लागि ३९ जना, खुलातर्फ ९ महिला कोटाका लागि ३१ र एक पिछडिएको क्षेत्रका लागि दुई जनाको उम्मेदवारी परेको छ। 

अपांगता भएका व्यक्तिको एक जनाको कोटामा १६ जनाको उम्मेदवारी परेको छ भने एक जनाकै कोटा रहेको अल्पसंख्यकमा ६ जना र एक महिलासहित तीन जनाको कोटा रहेको मुस्लिम कलस्टरबाट १६ जनाको उम्मेदवारी परेको छ। 

भौगोलिक क्षेत्रबाट सात प्रदेशबाट महिलासहित २१ जनाको प्रतिनिधित्व हुनुपर्नेमा प्रदेश १ बाट १३ जना, प्रदेश २ बाट पाँच जना, बाग्मती प्रदेशबाट ९ जना, गण्डकीबाट सात जना, लुम्बिनीबाट ११ जना, कर्णालीबाट सात जना र सुदूरपश्चिम प्रदेशबाट १२ जनाको उम्मेदवारी परेको छ।