कांग्रेस प्रदेश अधिवेशन आजबाट सुरु हुँदै, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

Spread the love

काठमाण्डौँ, मङ्सिर १६ (ई-रैवार)

नेपाली कांग्रेसको प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । १४ औं महाधिवेशनअन्तर्गत सातै प्रदेशमा आजबाट प्रदेश अधिवेशन हुन लागेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे भर्चुअल माध्यमबाट सातै प्रदेश महाधिवेशन उद्घाटन गर्ने छन् ।

प्रदेश नम्बर १ को विराटनगरमा, प्रदेश नम्बर २ को जनकपुरमा, वाग्मती प्रदेशको हेटौंडामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेश अधिवेशन हुँदैछ ।

प्रदेश अधिवेशनका लागि कांग्रेस केन्द्रीय समितिबाट सात जना नेतालाई संयोजन गर्ने गरी जिम्मेवारी दिइएको छ । जसअन्तरगत प्रदेश नम्बर १ मा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रदेश नम्बर २ मा रमेश रिजाल, वाग्मतीमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुले प्रदेश अधिवेशन आयोजक समिति संयोजकको जिम्मेवारी पाएका छन् ।

आज उद्घाटन हुने प्रदेश अधिवेशनको शुक्रबार मनोनयन दर्ता र शनिबार निर्वाचनको कार्यतालिका छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आज मतदाता नामावली प्रकाशन हुनेछ भने शुक्रबार मनोनयन दर्ताको कार्यतालिका तय भएको छ । शनिबार निर्वाचन हुनेछ ।

प्रदेश अधिवेशनमा प्रदेशसभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद मतदाता हुने पार्टी विधानमा व्यवस्था छ । 

१६५ प्रतिनिधिसभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेशसभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिले प्रादेशिक नेतृत्व चयनका लागि मतदान गर्न पाउँछन् ।

प्रदेशमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री रहने कांग्रेसको विधानमा उल्लेख छ ।