एमाले महाधिवेशन भएन सर्वसम्मत: यि पदमा हुदैछ चुनाव

Spread the love

सौराहा मंसिर १३(ई-रैवार)
नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत सर्वसम्मत अध्यक्ष हुने लालसा पालेका केपी शर्मा ओलीको चाहना पुरा नहुने भएको छ । लामो रस्साकस्सी र दबाब दिदापनि उपाध्यक्ष डा. भीम रावल नगलेपछि चुनाव हुने निश्चित भएको छ । अब नयाँ नेतृत्व छनौटका लागि आज राति मतदान हुँदैछ। मतदानबाट केन्द्रीय अध्यक्षसहित पदाधिकारी, केन्द्रीय सदस्य र विभिन्न आयोगमा नेतृत्व छानिन लागेको छ।
यसअघि अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत बनाउने भन्दै ३०१ केन्द्रीय सदस्यसहित पदाधिकारीको नाम पेस गरेका थिए।
उनले पेस गरेको प्रस्तावमा कतिपय ठाउँमा सर्वसम्मत भएको छ भने कतिपय पदमा चुनाव हुने भएको छ। ओलीको सूचीमा असन्तुष्ट भएकाहरूले सोमबार आफूले चाहेको पदमा उम्मेदवारी दिएका छन्। केहीमा भने ओलीले प्रस्ताव गरेकाहरू सर्वसम्मत चुनिएका छन्।
ओली आफैं चुनावी प्रक्रियाबाट अध्यक्ष बन्नु पर्ने भएको छ। अध्यक्षमा भीम रावलले पनि उम्मेदवारी दर्ता गरेका छन्।
उपाध्यक्षमा पनि चुनाव हुने भएको छ। उपाध्यक्षमा ओलीले प्रस्ताव गरेका ६ जनालाई चुनौती दिँदै घनश्याम भुसालले उम्मेदवारी दिएका छन्।
सात जना सचिव पनि मतदानबाट टुंग्याउनु पर्ने भएको छ। ७ जना सचिवका लागि ९ जनाको उम्मेदवारी परेको छ। भीम आचार्य र टंक कार्कीले ओलीले प्रस्ताव गरेको नाममा असहमति जनाउँदै उम्मेदवारी दिएका हुन्।
केन्द्रीय सदस्यमा भूगोलअन्तर्गत प्रदेश १ खुलामा ६ जना चाहिनेमा ९ जनाले उम्मेदवारी दिएका छन्। बागमती प्रदेशका ६ जना खुला केन्द्रीय सदस्यका लागि ८ जनाले मनोनयन हालेका छन्।
कर्णाली प्रदेशमा खुलाबाट ६ जनाका लागि सात जनाले उम्मेदवारी दिएका छन्।
सुदूर पश्चिम प्रदेशबाट खुला सदस्य ६ जनाको ठाउँमा ९ जनाको उम्मेदवारी परेको छ। उक्त प्रदेशमा महिलातर्फ तीन जनाको कोटामा ६ जनाले उम्मेदवारी दिएका छन्।
सम्पर्क समन्वय समिति महिलातर्फ १ केन्द्रीय सदस्यका लागि २ जनाले उम्मेदवारी दिएका छन्।
आदिवासी जनजाति खुलातर्फ १७ जना केन्द्रीय सदस्यका लागि १९ जनाले उम्मेदवारी दिएका छन् भने आदिवासी महिला कोटामा ८ केन्द्रीय सदस्यका लागि ९ जनाले उम्मेदवारी दिएका छन्।
मधेसी खुलामा १३ जना केन्द्रीय सदस्यका लागि १५ जनाले उम्मेदवारी दिएका छन्।
दलित खुला कोटामा ८ केन्द्रीय सदस्य छुट्याइएको छ। यो कोटामा ११ जनाले उम्मेदवारी दिएका छन्।
थारू खुलामा ५ जना केन्द्रीय सदस्य बन्न ६ जनाले उम्मेदवारी दिएका छन् भने थारू महिला २ जनाका लागि ३ जनाले मनोनयन दिएका छन्।
मुस्लिम खुलातर्फ ४ जना केन्द्रीय सदस्यका लागि ५ जनाले उम्मेदवारी दिएका छन्।
खुला केन्द्रीय सदस्य ८४ जनाका लागि ८५ जनाले उम्मेदवारी दिएका भने खुला महिला ५३ जनाका लागि ५४ वटा उम्मेदवारी परेको छ।
केही पदमा बाहेक अधिकांशमा चाहिनेभन्दा एकरदुई जनामात्र बढीले उम्मेदवारी दिएकाले केन्द्रीय सदस्यहरूलाई सर्वसम्मत बनाउने ओलीको रणनीति छ। ओलीनिकट स्रोतका अनुसार पदाधिकारीबाहेक अन्य पदमा चुनाव नगर्ने पक्षमा ओली छन्।