काठमाडौं, कात्तिक २८ (ई-रैवार)
नेपाल कम्युनिस्ट पार्टी एमालेले दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गरेको छ । आगामी मंसिर १०–१२ गते चितवनमा हुने महाधिवेशनका लागि आइतबार एमालेले अधिकांश जिल्लामा सर्वसम्मतिले प्रतिनिधि चयन गरिएको हो ।
एमालेका पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको जानकारी दिएका हुन ।
अहिलेसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसंगठन र प्रवासबाट समेत गरी ८५ प्रतिशतको हाराहारीमा प्रतिनिधिहरू निर्वाचित भइसकेको प्रचार विभाग प्रमुख भट्टराईले जनाकारी दिए । एमालेले सबै कमिटीलाई कात्तिक ३० गतेसम्म प्रतिनिधिको सम्पूर्ण अभिलेख पठाउन निर्देशन समेत दिएको छ ।
मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधिहरु सहभागी हुने एमालेले बताउँदै आएको छ ।
एमालेका अनुसार हालसम्म प्रदेश १ का पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुरबाट प्रतिनिधि छानिएको छ । त्यसैगरी वाग्मती प्रदेशका दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुर, उपत्यका विशेष कमिटीअन्तर्गतको पेसागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी प्रतिनिधि छनोट भइसकेको छ ।
गण्डकी प्रदेशको गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङ, लुम्बिनीको गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दिया र कर्णाली प्रदेशको हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत प्रतिनिधि छनोट भइसकेको एमालेले जनाएको छ । सुदूरपश्चिमको दार्चुला, बैतडी, बझाङ र डडेल्धुरामा प्रतिनिधि छनोट भएका छन् ।
एमालेका अनुसार प्रदेश १ को ताप्लेजुङ र सुनसरी, प्रदेश २ का सबै जिल्ला, वाग्मतीका रसुवा र काभ्रे, कर्णालीको दैलेख र मुगु, सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, अछाम, डोटी र बाजुरामा प्रतिनिधि छनोट हुन बाँकी रहेको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।


