आजदेखि देशभर जनगणना : ४० हजार गणक परिचालित, सही विवरण दिन विभागको आग्रह

Spread the love

काठमाडौं, कात्तिक २५ (ई-रैवार)

राष्ट्रिय जनगणना आजदेखि सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो ।

केन्द्रीय तथ्यांक विभागका अनुसार आज बिहान राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको जनगणना गरिँदैछ । आजदेखि १५ दिनसम्म जनगणना कार्य हुनेछ ।

आजदेखि मंसिर ९ गतेसम्म १५ दिन चल्ने जनगणनाका लागि देशभर झण्डै ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षकहरु परिचालन भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले पहिलो चरणको सूचीकरण संकलन भइसकेको र आजदेखि मूल जनगणना संकलन कार्य हुने बताए । त्यसका लागि ७७ जिल्लामा जनगणना कार्यालय स्थापना भइसकेको छ । सूचीकरणमा छुटेकाहरूलाई पनि मूल जनगणनामा समेटिने उनले बताए ।

पहिलोपटक सामुदायिक प्रश्नावली पनि समावेश गरिएको र यो कार्यले वडा तहको तथ्यांक पनि संकलन हुने उनले बताए । जनगणनाका ८० वटा प्रश्न छन् । स्थानीय तहबाट पनि तथ्यांकको धेरै माग भएकाले प्रश्न धेरै भएको उनले स्पष्ट पारे ।

महानिर्देशक श्रेष्ठका अनुसार एकजना गणकले सामान्यतया १७५ परिवारको तथ्यांक संकलन गर्नेछन् । गणकले घरपरिवारमा पुगेर प्रश्न सोध्नेछन् । पहाडी र तराई क्षेत्रमा भने गणकले २०० परिवारसम्मको तथ्यांक संकलन गर्न सक्ने छन् । 

जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । जनगणना कार्यमा एउटा परिवारको तथ्यांक संकलन गर्न करिब ३० मिनेट लाग्ने छ । ८० वटा प्रश्नको उत्तर लिन र दिन न्यूनतम ३० मिनेट लाग्ने विभागका महानिर्देशक श्रेष्ठले बताए ।

हरेक व्यक्ति र परिवारले जनगणनामा सहभागी भएर आफ्नो सही विवरण दिन तथ्याङ्क विभागले आग्रह गरेको छ । जगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने तर विवरण नदिनेमाथि कानुनी कारबाही हुने महानिर्देशक श्रेष्ठले बताए  ।

जनगणनाका लागि सरकारले ४ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । जनगणनाको प्रारम्भिक नतिजा आउन झण्डै तीन महिना लाग्ने अनुमान छ । नेपालमा हरेक १० वर्षमा जनगणना हुँदै आएको छ । नेपालमा सङ्घीयता कार्यान्वयन भएपछि यो पहिलो जनगणना हो।

लिपुलेक, लिम्पियाधुरा क्षेत्रको जनगणना सेटलाइटबाट भए पनि गरिने

विभागले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको पनि तथ्यांक संकलन गर्ने जनाएको छ । सो क्षेत्रको तथ्यांक संंकलन गर्न भौतिक उपस्थिति हुन नसके वैकल्पिक माध्यमबाट भए पनि संकलन गरिने विभागले जनाएको छ ।

सुरुमा कूटनीतिक माध्यमबाट त्यहाँ गएर नै जनगणना गर्न प्रयास गरिने र त्यो हुन नसके सेटलाइटका माध्यमबाट जनगणनामा सहभागी बनाइने विभागका महानिर्देशक श्रेष्ठले बताए ।

उनका अनुसार अहिले सो क्षेत्रमा जान भारतीय सेनाले दिएको छैन । त्यसैले त्यहाँ जान कूटनीतिक प्रयास भइरहेको उनले बताए । “सो क्षेत्रमा जान सकिएन भने पनि सेटलाइटका माध्यमबाट भए पनि सो क्षेत्रमा रहेको जनसंख्याको तथ्यांक ल्याउनेछौँ,” बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भने । उनका अनुसार सो क्षेत्रमा करिब ८०० परिवार रहेको प्रारम्भिक तथ्यांक छ ।

तीन महिना लाग्ने

कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म १५ दिन हुने जनगणनाको नतिजा आउन करिब तीन महिना लाग्ने अनुमान गरिएको छ । नेपालमा भएका कुल जनसङ्ख्या, महिला र पुरुषको मात्र तथ्याङ्क निकाल्न न्यूनतम तीन महिना लाग्ने विभागका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिए ।

जनगणनाको पूरै विवरण आउन छदेखि नौ महिना लाग्नेछ । गणकले भरेको फारम कम्प्युटरमा प्रविष्ट गरी सबै तथ्याङ्क निकाल्नुपर्ने भएकाले पूरै विवरण आउन समय लाग्ने भएको हो ।

यस वर्षको जनगणनाका लागि सूचीकरण फाराम, मूलप्रश्नावली र सामुदायिक प्रश्नावली गरी तीन प्रकारका प्रश्नावली तयार गरिएको छ । उक्त प्रश्नावलीले समग्र कृषि क्षेत्रका विवरण , बैङ्कमा किसानको पहुँच, व्यक्तिगत विवरण, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग, सामाजिक आर्थिक विषय, जन्म, मृत्यु, बसाइँसराइलगायतका विवरण आउनेछ ।

घरघरमा पुगेर गणकले सोधेका प्रश्नबाट व्यक्तिगत विवरण आउने र सो व्यक्तिगत विवरणलाई आधार मानेर सुपरिवेक्षकले स्थानीय तहका वडाध्यक्षसँग क्रस चेकिङ गर्नका लागि वडा तहमा सामुदायिक प्रश्न सोधिन लागेको लामिछानेले बताए । ।

वडा अभिलेख बन्ने

यस वर्षको जनगणनाबाट ७५३ स्थानीय तहको छ हजार ७४२ वटै वडाको छुट्टाछुट्टै अभिलेख बन्ने भएको छ । जगनणनाबाट वडाभित्र भएको जातजाति, धर्म, सेवाप्रवाह, राज्यले प्रदान गर्ने सुविधामा नागरिकको पहँच वडाको बस्ती, गाउँ, टोलको सङ्ख्या, वडा कार्यालयबाट टाढा रहेको बस्ती, स्थानीय स्तरमा उत्पादन हुने कृषिजन्य र गैरकृषिजन्य अवस्थाको विवरण आउनेछ ।

त्यस्तै खानीको अवस्था, वडामा राजस्व सङ्कलन हुने राजस्वका स्रोतहरू, वडाले प्रदान गर्ने सेवा सुविधाको अवस्था सहरी सेवा, सुविधामा वडावासीको पहुँचको अवस्था, वडाभित्रको भौतिक पूर्वाधारको अवस्था, सामाजिक र आर्थिक अवस्था विपत् जोखिमको अवस्थाको यथार्थ विवरण आउनेछ । उक्त विवरणको आधारमा सबै वडाको अभिलेख बन्ने महानिर्देशक श्रेष्ठले बताउनुभयो । नेपालमा हरेक १०/१० वर्षमा राष्ट्रिय जनगणना हुने गरेको छ । नेपालमा पहिलो जनगणना वि.सं. १९६८ मा भएको थियो ।