पूर्वराजालाई देउवाको चुनौती : प्रजातन्त्रको खिलापमा लाग्ने होइन, शासन गर्ने भए चुनाव लड्न आए हुन्छ

Spread the love

काठमाडौं, कात्तिक २४ (ई-रैवार)

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनाव लडेर शासन गर्न चुनौति दिएका छन्। गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्ति बाटिकामा बुधबारआयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले शासन गर्नका लागि चुनाव लडेर आउनुपर्ने बताउँदै प्रजातन्त्रकोविरुद्धमा नलाग्न चेतावनी दिएका हुन् ।

शान्ति वाटिकामा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले पूर्वराजा शाहतर्फ इंगित गर्दै भने, ‘गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो । हामीले ल्याएकै होइन । मैले सरकार सबै चढाउँछु, प्रजातन्त्रविरुद्ध जान सक्दिनँ सरकार भने । तर मलाई जेलमा थुनियो । त्यसकारण एकाएक जनता तातिए । प्रजातन्त्र आइसकेको देशमा प्रजातन्त्रको पक्षमा गइसकेको छ, त्यही पनि शासन चलाउँछ, यसको खिलाफमा मान्छे लाग्न सक्छन् । त्यसकारण अगाडि बढे भइहाल्यो नि । मैले भनिसकेँ प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । अरु हुनै सक्दैन, उनीहरुले चुनाव आएर लडे भइहाल्यो नि, चुनाव लड्न नसक्ने अनि प्रजातन्त्रको खिलाफ भनेर हुन्छ ?’

नेपालमा अहिले सबैभन्दा राम्रो संविधान भएको र यसले सबै पक्षलाई समेटेको देउवाको भनाइ थियो । ‘अहिले सबैभन्दा राम्रो संविधान छ । समावेशी, समानुपातिक छ । सबैलाई अटाएको छ । केही समस्याहरू आउन सक्छन् हामीले प्रजातान्त्रिक ढंगबाटै समाधान गर्नुपर्छ,’ उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति भनेकै जनता भएको स्मरण गराएका थिए । ‘जनताभन्दा ठूलो अर्को शक्ति नै छैन हेर्नुहोस्, जनता नै हो यो देशको मालिक, जनताले सहयोग गरेनन् भने जान्छ, त्यसैले यहाँ जनतन्त्र भन्छ, प्रजातन्त्र भन्छ, प्रजा भनेको जनता नै हो, यसमा अर्को पाटो हो निष्पक्ष चुनाव, कसैले पनि धाँदली गर्न नसकोस्, बद्मासी गर्न नसकोस्’, उनले भने।

प्रधानमन्त्री देउवाले प्रजातन्त्रलाई जनताप्रति लक्षित कसरी बनाउने भनेर छलफल गर्न आवश्यक रहेको औल्याए। उनले संविधानका केही कुरामा आफ्नो पनि असहमती रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजाने बताए।

‘निर्वाचन आयोग छ, त्यो अत्यन्तै स्वतन्त्र हुनुपर्छ, कुनै पार्टीसँग मिल्ने होइन, स्वतन्त्र रहने संस्था हो, निर्वाचन आयोगले कसैको कुरा मान्दैन, आफ्नो नीतिअनुसार हिँड्छ, निष्पक्ष निर्वाचन आयोगका साथसाथै वडा–वडा बाट नै निष्पक्ष चुनावबाट जो आउँछ मान्नुपर्छ, उपाय नै छैन, जिते पनि हारे पनि सहस्र स्वीकार गर्नु हाम्रो कर्तव्य हो, सरकारले जनताप्रति काम गरेन भने अर्को अउँछ, जनताप्रति पजातन्त्रलाई कसरी उत्तरदायी बनाउने त्यता तिर लागौँ न हामी, मैले त धेरै पटक भनिसकेको छु,’ उनले भने।

प्रधानमन्त्री देउवाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनका कारण नेपालमा मनसुनजन्य विपद् आइरहेको बताए। उनले विश्व नै अहिले पेट्रोलियम पदार्थलाई बिस्थापित गरेर विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्ने रणनीतिअनुसार अघि बढीरहेको भन्दै नेपालले पनि त्यहीअनुसार अघि बढ्नुपर्ने बताए।

प्रधानमन्त्री देउवाले क्लाइमेट चेन्ज (जलवायु परिवर्तन)का कारण देशका हिमालमा हिउँ पर्न छोडेको भन्दै अब वातावरण सफा बनाउनेतर्फ जागरुक हुनुपर्ने आवश्यक्ता औंल्याए।