बारका अध्यक्ष श्रेष्ठले प्रधान्यायाधीशलाई लगाए गम्भीर आरोप : ‘जबरा बिचौलियाका नाइके हुन्’

Spread the love

काठमाडौँ, कात्तिक २३ (ई-रैवार)

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा ‘बिचौलियाका नाइके’ भएको गम्भीर आरोप लगाएका छन् । नेपाल बार परिसरमा मंगलबार आयोजित विरोध प्रदर्शनमा उनले प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके भएको गम्भीर आरोप लगाएका हुन ।

बार एसोसिएसनका अध्यक्ष श्रेष्ठले अहिलेको अवस्थामा प्रधान्यायाधीश जबराबाट न्याय पाउने सम्भावना नरहेकाले आन्दोलनमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।

‘न्यायपालिकाको धरोहर उच्च राख्नका लागि आन्दोलन जारी छ उहाँको इजलासबाट न्याय पाउन सक्दैनौँ,’ अध्यक्ष श्रेष्ठले भने,‘ प्रधानन्यायाधीश जबरा बिचौलियाका नाइके हुन्, उनीबाट न्याय पाउन सकिँदैन ।’

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीशको राजीनामा र महाभियोगका लागि पर्याप्त आधार तयार भइसकेको बताए । अहिले न्यायाधीशहरू पनि आन्दोलमा रहेकाले के आधारमा आन्दोलनमा लागेको हो, त्यसका कारणहरू सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिए ।

न्यायालयमा विकसित पछिल्लो घटनाक्रम सम्बन्धमा सत्ता गठबन्धन मौन बसेको भन्दै उनले अब प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनविरुद्ध पनि आवाज उठाउनुपर्ने बताए ।