धनगढी बसपार्कबाट स्रोत नखुलेको साढे ८ लाख रुपैयाँसहित ३ जना पक्राउ

Spread the love

धनगढी,  कात्तिक १५ (ई-रैवार)

प्रहरीले स्रोत नखुलेको साढे ८ लाखसहित तीन जनालाई पक्राउ गरेको छ । कैलाली प्रहरीले धनगढी बसपार्कमा रहेको होटल अमन प्लाजाबाट ८ लाख ६९ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार धनगढी बसपार्कमा रहेको होटल अमन प्लाजाबाट बझाङ घर भएका मुकेश खडका, किरण खड्का र नारायण खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रवक्ता विष्टका अनुसार पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका-१ कोटदेबलका २२ वर्षीय मुकेश खड्का,१८ वर्षीय किरण खड्का र २४ वर्षीय नारायण खड्का रहेका छन् ।

उनीहरुलाई विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो ।

उनीहरूको साथबाट तीन हजार दुई सय भारतीय रूपैयाँ, ३४ ग्राम ३६० मिलिग्राम सुनका गरगहना र ७३७ ग्राम ७८० मिलिग्राम बराबरका चाँदीका विभिन्न गरगहन पनि बरामद गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

नगद र गरगहनासहित पक्राउ परेका उनीहरूलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।