प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, एमाले सरकार ढल्ने पक्का

Spread the love

विराटनगर, कार्तिक ७ (ई-रैवार)

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार मतदान हुने लागेको हो ।

नेकपा (एमाले) विभाजनको दोस्रो दिन गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

प्रस्तावमाथि छलफल र मतविभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले आज साढे १२ बजे नवौं तथा हिउँदे अधिवेशनको चौथो बैठक बोलाएका हुन् । आइतबार दिउँसो १२ बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा मत विभाजनसम्बन्धी प्रक्रिया सुरु हुने छ ।

शुक्रबार प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने यसअघि नै दलहरुबीच सहमति भएको थियो ।

शुक्रबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरेका थिए । आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा भने २५ असोजमै दर्ता भएको थियो ।

एमाले विभाजन भएका कारण अल्पमतमा रहेका आचार्यले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना छैन । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

सत्ता पक्ष एमालेसँग सभामुखसहित ४१ सांसद छन् । एमालेकी सांसद गुलेफुन खातुन भने फरार छिन् । सरकारी छाप किर्ते मुद्दामा दोषी ठहर भएकी उनी आजको प्रदेशसभा बैठकमा उपस्थित हुने सम्भावना कम छ ।

सरकरी छाप र हस्ताक्षर किर्ते गरेको मुद्दामा उच्च अदालत विराटनगरले सांसद खातुनलाई एक वर्ष कैद र १४ हजार ५८३ जरिमाना सजायको फैसला सुनाएपछि फरार रहेकी उनी प्रहरीको खोजी सूचीमा छन् ।

विपक्षी गठबन्धन भने ५० मतसहित नयाँ सरकार निर्माणको तयारीमा छ। गठबन्धनमा नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् ।

विपक्षी गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने तयारी छ। विश्वासको मतदानपछि गठबन्धनको तर्फबाट मुख्यमन्त्रीको रुपमा राजेन्द्र राईलाई अघि सार्ने नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

आज बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत नपाए प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।