अमेरिकासँग ६ विकेटले हार्‍यो नेपाल, नेपालले हार्नुका पाँच कारण

Spread the love

काठमाडौं, असोज २ (ई-रैवार)

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो । १ सय ७५ रनको लक्ष्य अमेरिकाले २९ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पूरा गरेको हो ।

अमेरिकाको जितमा स्टेभेन टेलरले ९२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोनान्क पटेलले अविजित ३८ रन, जस्करण मल्होत्राले अविजित ३६ रन बनाए । नेपालका सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा अलआउट हुँदै १ सय ७४ रन बनाएको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५५ रन बनाए । ओमान भ्रमणमा उनको यो पहिलो अर्धशतक हो । जारी प्रतियोगितामा अर्धशतक बनाउने उनी तेस्रो नेपाली ब्याट्सम्यान हुन् । यसअघि कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक बनाएका थिए ।

एक खेलाडी परिवर्तन गरेर मैदानमा उत्रिएको नेपालले शुक्रबार अमेरिकाविरुद्ध विर्सनलायक ब्याटिङ गर्‍यो । ५ रनको स्कोरमा ओपनर आसिफ शेख ३ रनमा आउट भए भने रोहित पौडल मात्र २ रन पेवेलिएन फर्किए । यस्तै कुशल भुर्तेलले ३६ रन बनाउँदा बिनोद भण्डारीले १० रनको योगदान दिए ।

नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका गुल्सन झाले २८ रनको योगदान दिए भने करण केसीले १२ रन बनाए । कुशल मल्ल शून्यमा आउट भए ।

ओमान भ्रमणमा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि ओमानसँग ५ विकेटले पराजित भएको थियो । अमेरिकासँग खेलमा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा कमजोर प्रदर्शन गर्यो । नेपालको हार्नुमा मैदान भित्र मात्र नभएर बाहिर लिएको निर्णय पनि रहेको छ । नेपालले आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न सकेको छैन । नेपालले पहिलो पटक अमेरिकासँग ओडिआई खेलमा हार्नुमा सबैको गल्ती रहेको छ । पुरानै समस्याहरु पुन चिन्ता थप्न थालेका छन् । समग्रमा नेपालले अमेरिकासँग हार्नुका पाँच मुख्य कारण यस प्रकार छन् ।

१. गैर जिम्मेवारी ब्याटिङ

नेपालको हारको मुख्य कारण ब्याट्सम्यानहरुको गैरजिम्मेवार ब्याटिङ हो । कुनैपनि ब्याट्सम्यानले जिम्मेवारी प्रदर्शन गर्न सकेनन् । सबै गैर जिम्मेवार ब्याटिङ र खराब सटलेनै नेपालको रन बन्न सकेको छैन । युवा ब्याट्सम्यान रोहित कुमार पौडेल कोरिमा गोरले कभरमा एक हातले उत्कृष्ट क्याच लिएपछि आउट भएका थिए । अन्य सबै ब्याट्सम्यान गलत सट छनोटका कारण आउट भएका थिए । क्रिजमा जिम्मेवारीका साथ खेल्न सकेका छैनन् ।

निरन्तर विकेट पतन भइरहेको छ । त्यो अवस्थामा खेलाडी ठूला सटको चक्करमा विकेट गुमाइरहेका छन् । अमेरिका खेलाडीले उत्कृष्ट बलिङ गरेर भन्दा पनि ब्याट्सम्यानले आफ्नै कारण विकेट दिइरहेका थिए । सट छनोट निकै खराब थियो । जिम्मेवारी बिना राम्रो योगफल बन्न सक्दैन । स्कोरबोर्डमा राम्रो योगफल बिना जित निकै कठिन पर्छ । आगमी दिनमा पनि जिम्मेवारी प्रदर्शन बिना नेपाललाई जित कठिन पर्न सक्छ । गैरजिम्मेवार पन पछिल्लो समय नेपाललाई सबैभन्दा ठूलो चिन्ता र हारको कारण बन्दै आएको छ ।

२. मध्यक्रममा अनुभवी शरदको अभाव

नेपालको हारको कारण कप्तान, टिम म्यानेजमेन्ट र प्रशिक्षकले बढी लिनुपर्छ । ब्याटिङ नेपालको सधैं प्रमुख कमजोरी हो । ओमान भ्रमणमा मध्यक्रम र तल्लोक्रम अझ कमजोर देखिएको छ । तर अनुभवी ब्याट्सम्यान शरद भेषावकरलाई नेपालले प्लेइङ ११ पुन राखेन । मध्यक्रममा उनको आवश्यक धेरै देखिन्छ । तर नेपालले अमेरिकाविरुद्ध पनि शरदलाईनै प्लेइङ ११ मै राखेको थिएन । पिएनजीसँगको पहिलो खेल खेलेपछि शरद लगातार चार खेलमा बेन्चमा रहे ।

शरदलाई बेन्चमा राख्नुको कुनै सहि कारण देखिदैन । मध्यक्रम कमजोर छ । खेलाडी फ्लप छन् । तर पनि शरदले मौका पाएका छैनन् । लगातार फ्लप कुशल मल्ललाई नेपालले थप विश्वास गर्दै टोलीमा खेलाएको थियो । तर उनी शून्यमा आउट भए । कुशलले ५ खेलमा ७ रन मात्र बनाएका छन् । सुरुवाती तीन खेलमा एक एक, ओमानसँग चार र अमेरिकासँग शून्यमा आउट भए ।

शरद मध्यक्रममा हुने हो भने नेपालको प्रदर्शन फेरिन सक्छ । युवा खेलाडी दबाबमा खराब सटका साथ आउट भइरहेका छन् । शरद दबाबमा आफ्नो अनुभवको भरपूर्ण फाइदाका साथ राम्रो योगफल बनाउन सक्छन् । आवश्यक खेलाडीनै बाहिर राखेपछि ब्याटिङ झनै कमजोर बनेको छ ।

३. दुई महत्त्वपूर्ण क्याच ड्रप

नेपालले महत्वपूर्ण समयमा दुई क्याच ड्रप गरेको थियो । ओमान भ्रमणमा तुलनात्मक रुपमा फिल्डिङ केहि कमजोर देखिएको छ । स्पिनर सुशान भारीको आठौं ओभरको तेस्रो बलमा टेलरले ठूलो सट खेल्नेक्रममा लङअङमा कुशल भुर्तेलले क्याच ड्रप गरेका थिए । उक्त समय टेलर ४२ रनमा क्रिजमा थिए । सोमपाल कामीको बलमा गुलशन झाले जसकरण मल्होत्रा क्याच शून्यमा ड्रप गरे । टेलरले उक्त क्याच ड्रपपछि थप ५० रन जोडे । मल्होत्राले ३६ रनमा नटआउट रहँदै जित पक्का गराए ।

नेपाललाई विकेट चाहिएको समयमा क्याच ड्रप गर्नु ठूलो घातक बन्यो । उक्त क्याच ड्रपले बलरको मनोबल कमजोर र निराश मैदानमा देख्न सकिन्थ्यो । टेलर र मल्होत्रा प्रमुख ब्याट्सम्यानकै क्याच ड्रप भएपछि नेपालको जितको सम्भावना सकिएको थियो । खेलमा यस्ता अवसर निकै कम आउछन् । त्यो अवसर सदुपयोग गर्न सके खेलको टर्निङ प्वाइन्ट बन्ने गर्दछ । नेपालले अवसर सदुपयोग गर्न सकेन । दुई क्याच ड्रप नेपालको हारको एक कारण बन्न पुग्यो ।

४. टेलरको उत्कृष्ट ब्याटिङ

अमेरिका जितमा ओपनर स्टिभ टेलर नायक बने । टेलरले कुनैपनि समय नेपाली बलरलाई अमेरिकाविरुद्ध हाबी हुने मौका दिएनन् । आक्रामक ब्याटिङका गर्दै नेपाली बलिङ कमजोर सावित गर्दै टेलरले सहज जित दिलाए । उनले ६३ बलमा १२ चौका र ३ छक्का सहित ९२ रनको इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिए । पाँचौं ओभरमा सन्दीपले दुई विकेट लिएपछि नेपाललाई खेलमा फर्किने अवसर थियो । तर छैटौं ओभरमा टेलरले गुलशनलाई तीन चौका र १ छक्का सहित २१ रन प्रहार गर्दै मोमेन्ट अमेरिका पक्षमा फर्काएका थिए ।

उनको आक्रामक ब्याटिङले गदै अन्य खेलाडीलाई दबाब बढ्न दिएनन् । टेलरलाई सस्तैमा आउट गर्न सकेको भए नतिजा नेपालको पक्षमा आउन सक्थ्यो । उनी आउट हुँदा अन्य खेलाडीमा दबाब बढ्थ्यो । नेपाली बलरको मनोबल उच्च हुन्थ्यो । दबाबमा विकेट गुम्ने सम्भावना बढी हुन्छ । उच्च मनोबल हुँदा बलरले थप उत्कृष्ट प्रदर्शन गर्नसक्छ । टेलरले बाउन्ड्री वा रन जोडि रहेको बलमा अर्को खेलाडी आउट पनि हुन सक्थ्यो ।

५. कमजोर बलिङ

नेपालको कमजोर बलिङ अमेरिकाविरुद्ध पनि सुधार हुन सकेन । नेपालले उत्कृष्ट बलिङ मार्फत खेलमा जित निकाल्न सक्थ्यो । बलिङनै नेपालको प्रमुख हतियार हो । तर नेपालको बलिङनै चल्न सकेन । प्रमुख बलर सोमपाल कामी लगातार दोस्रो खेलमा विकेटबिहिन बने । गुलशन झा र सुशान भारीले पनि विकेट लिन सकेनन् । करणले दुई विकेट एक ओभरमा लिदा खेल नेपालको हारबाट निस्कि सकेको थियो ।

सन्दीपले नेपाललाई पाँचौं ओभरमा दुई सफलता दिलाएका थिए । तेस्रो सफलताको लागि नेपालले २० ओभर सम्म पुग्नु परेको थियो । तेस्रो विकेटका लागि मनांक र स्टिभ टेलरले ९७ रनको विजयी साझेदारी गरेका थिए । योगफल सानो थियो । यो अवस्थामा नेपाललाई जित लगातार विकेटले मात्र दिलाउन सक्थ्यो ।