काठमाण्डौँ, भदौ ८ (ई-रैवार)
नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रो साता गर्ने भएको छ । एमालेको तुलसिलाल स्मृत प्रतिष्ठानको भवन च्यासलमा मंगलबार बसेको स्थायी कमिटी बैठकले मंसिर १०, ११ र १२ गते पार्टीको दशौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय भएको हो ।
एमालेका प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार महाधिवेशन र विधान सम्मेलनको मिति समेत तोकेको छ । बैठकले मंसिर १०, ११ र १२ गते पार्टीको दशौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय भएको छ । त्यसअघि कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन हुनेछ ।
बैठकले पारित गरेको प्रस्तावमा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै तहका कमिटी र जनसंगठनहरुलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको छ । त्यस क्रममा जेठ २ को सदस्यतालाई आधार मानेर पार्टी सदस्यता नवीकरण गर्ने, एकीकरणका क्रममा जेठ ३ पछि प्रदान गरिएका सदस्यता सम्बन्धित जिल्ला कमिटीले नवीकरण गर्ने एमालेले निर्णय गरेको छ ।
एमालेले विधान महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजमा छलफल गर्न आगामी भदौ २५ र २६ गते स्थायी कमिटी र २७,२८ गते केन्द्रीय समितिको बैठक आयोजना गर्ने भएको छ ।

माधवकुमार नेपाल समूहमा रहेका १० जना स्थायी कमिटी सदस्यहरु समेत सहभागी भएको स्थायी कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनका लागि कार्यदल समेत बनाएको छ । प्रवक्ता ज्ञवालीले १० बुँदे सहमति कार्यान्वयनका लागि विभिन्न ८ वटा निर्णय गरिएको बताएका छन् ।
एमालेको मंगलबार बसेको स्थायी कमिटी बैठकले कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।
बैठकले माधव नेपालको पार्टीमा गएकाहरूको हकमा कार्यदलले टुङ्गो लगाउने र पार्टीका केन्द्रीय निकाय र विभागहरूलाई पूर्णता दिने कार्यदललाई जिम्मा दिएको छ । नेकपा एमालेले विभाजित भएर गएको समूहलाई मूलधारमा फर्किन आह्वान गर्दै आएको खण्डमा उनीहरूमाथि पूर्वाग्रह नराख्ने प्रस्ताव पारित गरेको छ ।


