सत्ता गठबन्धन कार्यदल बैठक बस्दै, न्यूनतम साझा कार्यक्रम टुङ्गो लगाउने

Spread the love

काठमाडौँ, साउन १९ (ई-रैवार)

सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्ने भएको छ । सत्तारुढ गठबन्धनका नेताहरुको बैठकले सरकारको ‘न्यूनतम साझा कार्यक्रम’ तय भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेका छन् ।

बालुवाटारमा आज बस्ने बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचारसंहिता टुङ्गो लगाउने नेताहरुले बताएका छन् ।

“आजको बैठकले न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचारसंहिताका विषयमा छलफल गरेर सहमति जुटाउने छ,” कार्यदलका एक सदस्यले भने । हिजो नै सहमति जुटाउने प्रयास भए पनि आजका लागि थाँती राख्दै बैठक सकिएको थियो ।

साझा कार्यक्रम तयार गरेर केही दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तथा सरकार संचालनलानई पनि प्रभावकारी बनाउने सत्ता गठबन्धनको तयारी छ ।

सरकारको न्यूनतम साझा कार्यक्रम छिट्टै तयार गरिने र त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्ने सहमति जुटेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

उनले भने,‘न्यूनतम साझा कार्यक्रम चाँडै बनाएर जाने विषयमा सहमति बनेको छ ।’ हिजो मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा समेत सामान्य छलफल भएको उनले बताए ।

अध्यक्ष यादवले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा सहभागी हुने टुंगो एक-दुई दिनभित्र लाग्ने बताए । उनले भने,‘माधव नेपालजी सरकारमा आउने टुंगो एक-दुई दिनमा लाग्छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपा अध्यक्ष उपेन्द्र यादवबीच हिजो छलफल भएको थियो । गठबन्धनमा रहेका दलले गठन गरेको कार्यदलले आज सरकारको न्यूनतम साझा कार्यक्रमबारेको प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

केपी शर्मा ओलीको सरकारको विकल्पमा शेरवहादुर देउवा नेतृत्वमा असार २९ गते नै सरकार गठन भए पनि गठबन्धनको समझदारी भइनसक्दा सरकारले पूर्णता पाएको छैन ।

सत्तारुढ दलहरु आआफ्नै समस्यामा हुँदा सत्ता गठबन्धनले मन्त्रिपरिषदलाई पूर्णता दिन तथा सरकारको साझा कार्यक्रम बनाउन सकेका छैनन् । प्रधानमन्त्री बनेको तीन साता भइसक्दा पनि मन्त्रिपरिषद विस्तार नहुँदा प्रधानमन्त्रीसँगै सत्ता गठबन्धनको आलोचना बढेको छ ।