काठमाडौँ, साउन १३ (ई–रैवार)
सत्तारूढ गठबन्धनको बैठक सकिएको छ। काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने समझदारी गर्दै बैठक सकिएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान झन्डै २ घन्टासम्म बसेको सत्तापक्षका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिएका हुन ।
‘अहिलेसम्म सरकारले गरेका कामकारबाहीको छोटो समीक्षा भयो। मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिनेबारे पनि कुराकानी भएको छ,’ बैठकपछि महामन्त्री खड्काले भने-‘आजको बैठकबाट तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ’, उनले भने, ‘अब धेरै समय कुर्नु पर्नेछैन ।’
बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको छ भने त्यसबारे गृहकार्य गरेर मूर्तरूप दिइने खड्काले जानकारी दिए ।
यस्तै प्रदेश प्रमुख र विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिका लागि मापदण्ड बनाएर अघि बढ्ने भन्ने विषयमा पनि शीर्ष नेताहरुबीच सामान्य छलफल भएको छ । यसलाई अन्तिम रुप दिन आजै शीर्ष नेताहरुको बैठक बस्ने खड्काको भनाइ छ ।
बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम चाँडो टुंगो लगाउन कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदललाई निर्देशनसमेत दिएको छ । मन्त्रिपरिषदलाई पूर्णता दिन र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको थियो ।
साथै आजको बैठकमा मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिने सहमति पनि भएको छ। गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष छ।
बैठकमा काँग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई, एमालेको माधव नेपाल समूहबाट विजय पौडेल, जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी थिए ।
कांग्रेस सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भए पनि हालसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । हाल सरकारमा कांग्रेस र माओवादीका दुई–दुई जना मन्त्री र एकजना राज्यमन्त्री मात्र छन् ।


