माधव नेपालको कटाक्ष- आम माफीप्रति ओलीलाई महाराजधिराजको संज्ञा, हामी खुसी हुनुपर्ने भो ?

Spread the love

काठमाडौं, साउन ८ (ई–रैवार)

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आममाफी दिने घोषणा गरेकोप्रति अध्यक्ष केपी ओलीलाई महाराजधिराजको संज्ञा दिएका छन् । ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा अध्यक्ष ओलीले २२ सांसदलाई आममाफी दिएको भनी गरेको घोषणाप्रति नेता नेपालले ओलीलाई महाराजधिराजको संज्ञा दिएका हुन ।

४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक’ प्रवचन कार्यक्रममा बोल्दै नेता नेपालले भने, ‘हिजो महामहिम श्री ५ महाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायत माननीय सदस्यहरुलाई जति पनि स्पष्टीकरण गरिएको छ, त्यसलाई आममाफी दिइन्छ । एमनेस्टी इज ग्रान्टेड ! हामी गद्‌गद भयौं । महाराजधिराज कति खुसी भएछन्, हामीलाई आममाफी मिलेछ !’

ओली अझै परिवर्तन नभएको भन्दै नेपालले भने, ‘हिजो महाराजधिराजबाट आदेश आयो, माधव कुमार नेपाल लगायतलाई सबैलाई आम माफी दिएँ । के त्यही हो कम्युनिष्ट आदर्श ?’ महाराजधिराजको वाहा ! वाहा ! हामी खुसी हुनुपर्ने भो । यही हो प्रवृत्ति ? स्पष्टीकरण  सोध्नु गल्ती भयो । मैले त्यो हतार गरेँ  । मैले फिर्ता गरेँ  भनेको भए उहाँको हाइट घट्थ्यो ? मर्यादा कम हुन्थ्यो ?,”उनले प्रश्न गर्दै भने ।

केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेता नेपाललगायत २२ सांसदलाई आममाफीको घोषणा गरेका थिए । त्यसअघि भने ओली पक्षले २२ सांसदलाई स्पष्टीरण सोधेको थियो । उक्त स्पष्टीकरण नआउँदै ओलीले आममाफी भएको बताएका थिए ।

अर्को षड्यन्त्र असफल पार्‍यौं

एमाले वरिष्ठ नेता नेपालले ३ साउनमा प्रतिनिधिसभा विघटन गर्ने अर्को षड्यन्त्र असफल पारेको बताएका छन् ।

अध्यक्ष ओलीतर्फ संकेत गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई कुनै पनि हालतमा विश्वासको मत पुग्न नदिने र ‘संसद विघटन गर्ने मेरो कदम ठीक थियो, म दूरदर्शी नेता हुँ’ भन्ने खोजेको उनले बताए । तर आफूहरुले त्यसलाई असफल पारेको भन्दै नेता नेपालले भने, ‘संसदलाई जोगाएका छौं, संविधानको रक्षा गरेका छौं, स्वतन्त्र न्यायपालिकाको सम्मान गरेको छौं, जायज काम गरेका छौं ।’

उनले अघि भने, ‘मसँगै जोडिएका २३ जना (देउवालाई मत दिने २२ सांसद र समर्थन गर्ने झलनाथ खनाल)लाई सलाम भन्न चाहन्छु । ११ जना, जसले कमसेकम विपक्षमा भोट खसाल्नु भएन । उहाँलाई पनि सलाम भन्न चाहन्छु ।’

पदको लडाइँ होइन

एमाले वरिष्ठ नेता नेपालले पार्टीमा अहिले देखिएको अन्तरविरोध पदका लागि नभएको बताए ।

तर अध्यक्ष ओलीले त्यसलाई व्यवस्थित गर्न नसकेको भन्दै उनले भने, पार्टीको अन्तरविरोधको मूल कारण के हो खोजी गर्नुस् । यो पद, प्रतिष्ठा र इगोको लडाइँ होइन, वैचारिक मान्यता र यहाँ देखा परेका वैचारिक विचलनसँग जोडिएका अन्तरविरोध हो । पार्टीभित्र देखा परेका अनेक विकृति, विसंगति, नीति, विचार र विधि र आचरणसँग जोडिएको विषयको अन्तरविरोध हो ।’

आपसी अविश्वास पनि अर्को कारण भएको भन्दै उनले भने, ‘हाम्रो व्यवहारले यति ठूलो खाडल पैदा गरेको छ, दूरी पैदा गरेको छ, त्यो सबैको गहिरो चिरफार गर्नुस् ।’