सुदूरपश्चिमको फास्ट ट्रयाकमा अझै १० किलोमिटर ट्रयाक खोल्न बाँकी

सुदूरपश्चिमको फास्ट ट्रयाकमा अझै १० किलोमिटर ट्रयाक खोल्न बाँकी
Spread the love

भानुभक्त आचार्य

कैलाली,मंसिर १० (ई–रैवार)

चुरे गाउँपालिका–४ का लक्ष्मण साउदले धनगढी–खुटिया–दिपायल–चैनपुर हुँदै उरै भन्ज्याङ पुग्ने फास्ट ट्रयाक सडक निर्माणको चर्चा सुन्न थालेको बर्षाै भइसक्यो ।

फास्ट ट्रयाकका रूपमा सङ्घीय सरकारले अघि बढाएको सडकको काम भने निकै सुस्त गतिमा भइरहेको छ । ४ वर्षसम्म सडकको ट्रयाक खोल्ने काम पनि पूरा भएको छैन ।

खोलिएको ट्र्याकमा ठूला–ठूला ढुङ्गा र ठाउँ–ठाउँमा परेका खाल्डाहरू देखाउँदै उनले भने, ‘यो सडक कालोपत्रे होला र हामीले चिल्लोबाटोमा गाडी कुदाउन पाइएला भन्ने पनि आशा घट्दै गएको छ ।’

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत सङ्घीय सरकारले २०७३/०७४ मा धनगढी–खुटिया–दिपायल–चैनपुर–उरै भन्ज्याङ सडकलाई फास्ट ट्रयाकका रूपमा अघि बढाएको हो । तर त्यसको अर्काे वर्ष उक्त सडक निर्माणको जिम्मा सुदूरपश्चिम प्रदेश सरकारले लियो ।

प्रदेश सरकारले बनाउन नसक्ने भएपछि यो सडक निर्माणको जिम्मा पुनः सङ्घीय सरकारकै जिम्मेवारीमा परेको छ ।

धनगढीदेखि तत्कालीन क्षेत्रीय सदरमुकाम दिपायलसम्म पुग्न अहिले प्रयोग हुँदै आएको सडकको दुरी करिब १९५ किलोमिटर लामो छ । तर, दिपायलदेखि फास्ट ट्र्याकमार्फत बझाङको उरै भञ्ज्याङसम्म जोड्ने यो सडक जम्मा ९० किलोमिटरको हुन्छ । तर सडक बेलामा नबन्दा स्थानीयले असुविधा भोग्नुपरिरहेको छ ।

फाष्ट ट्रयाक आयोजना कार्यालय प्रमुख खगेन्द्र शाहीले कोरोना महामारीका कारण कामले गति नलिएको भन्दै अब तीब्र रुपमा अघि बढ्ने जिकिर गरे ।

उनका अनुसार कैलालीमा ८ किलोमिटर र डोटीमा २ किलोमिटर गरी झन्डै १० किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको छ । यो सडकका लागि चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ विनियोजन भएको छ ।

‘यो वर्ष ट्रयाक खोलेर कच्ची सडक जोडिने छ । त्यही अनुरूप अब निर्माण कम्पनीले पनि यो महिनादेखि कामको थालनी गर्ने छ’ शाहीले भने ।

यसै वर्ष उक्त सडकको २० किलोमिटर कालोपत्रे गर्ने तयारी रहेको पनि उनले बताए । ‘धनगढीदेखि हाट खोलीसम्मको सडक कालोपत्रेको लागि तयार छ हामीले यसका लागि ५० करोड रुपैयाँ बजेट माग गरेका छौँ’ उनले भने ‘बजेट प्राप्त भए काम अघि बढ्छ ।’ अनलाइन खबरबाट