सुवास नेम्वाङले भने- प्रधानमन्त्री देउवालाई बधाई दिनुपर्ने अवस्था आयो

Spread the love

काठमाडौं, साउन ८ (ई–रैवार)

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनुपर्ने अवस्था आएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा नेता नेम्वाङले जनताको जनादेश प्राप्त नभएकाले सरकारमा जान्न भन्ने देउवालाई अहिले बधाई दिनुपर्ने अवस्था आएको बताएका हुन ।

प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिने क्रममा प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेम्वाङले जनादेशबाट नभई परमादेशबाट प्रधानमन्त्री चयन भएको भन्दै आलोचना गरेका हुन् ।

संसदको रोष्ट्रम प्रयोग गरेर बोलेका नेम्बाङले “प्रधानमन्त्रीलाई बधाई दिनु छ, उहाँले कहाँबाट जनादेश प्राप्त गर्नुभएछ मैले थाहा पाइँन,” नेम्वाङले भने, “उहाँले निर्वाचनबाट जनादेश पाउनुभएको छैन । परमादेशबाट उहाँ आउनुभएको हो ।”

संविधानले प्रधानमन्त्री चयनको व्यवस्था गरेको र त्यो भनेको जनताको जनादेशबाट हुने गरेको नेम्वाङको भनाइ थियो । उनले भने, ‘यो पहिलोपटक हो, संसद्‍बाट होइन, जनताको जनादेशबाट होइन तर सम्मानित सर्वोच्च अदालतको परमादेशबाट हामीले प्रधानमन्त्री प्राप्त गरेका छौं ।’

नेम्वाङले सर्वोच्चको असार २८ गतेको फैसलाले धेरै प्रश्न उठाएको बताए । त्यसले शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई खलबल्याएको पनि उनको दाबी थियो ।

‘सर्वोच्च अदालतले संविधानको अक्षर र भावना, बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन, प्रणाली शक्ति पृथकीकरण एवं नियन्त्रण र सन्तुलनको सिद्धान्त, सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहीत रहेको संविधानको आधारभूत प्रस्तावना हो,’ नेम्वाङले भने, ‘सम्मानित सर्वोच्च अदालतको फैसलाले त्यसलाई कमजोर तुल्याएको छ ।’

जनादेशमा जाने कुरालाई निरंकुश भन्ने कुरा गलत भएको पनि नेम्वाङको भनाइ थियो । तर सर्वोच्च अदालतले राज्यका तीन अंगबीचको शक्ति सन्तुलन खलबलिएको आरोप लगाए ।

नेता सुवास नेम्वाङले आफ्नो पार्टीको एउटा समूहसँग गठबन्धन गरेको भन्दै प्रधानमन्त्रीमाथि कटाक्ष समेत गरेका छन् । नेम्वाङले कांग्रेससँग प्रधानमन्त्रीमार्फत नै सम्बन्ध विस्तार गर्ने बताए । उनले अघि भने, ‘तपाईंको पार्टीभित्रका कोही मित्रसँग छुट्टै गठबन्धन बनाउँदैनौं ।’

एउटा पार्टीको केही व्यक्तिसँग गठबन्धन गर्नु असंसदीय, अलोकतान्त्रिक र संविधान विपरीत हो भन्ने जान्दाजान्दै कांग्रेसले विगतमा ‘कम्युनिस्टहरु लोकतान्त्रिक मूल्य मान्यता जान्दैनन्’ भनेर सम्झाउने गरेको भन्दै उनले भने, ‘त्यसभित्र यो पर्छ । त्यसउपर प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’

संविधानको धारा ७६(५) अनुसार देउवाले प्रधानमन्त्रीमा दाबी गर्दा एमालेका २६ सांसदले समर्थन गरेका थिए भने ३ साउनमा प्रधानमन्त्री देउवाले संसदमा विश्वासको मत दिंदा माधवकुमार नेपालसहित एमालेका २२ सांसदको मत दिए ।

आफ्नो दलले जिम्मेवार प्रतिपक्षको भूमिका खेलेर सरकारलाई सहयोग गर्ने नेम्वाङले बताए । आफ्नो पार्टीले सरकारले गरेका ठिक कुरामा सहयोग गर्ने तर गलत कुराको निगरानी पनि गर्ने नेम्वाङले बताए । ‘हामी प्रत्येक मन्त्रालयको अनुगमन गर्छौ । सरकार कहिले के गर्दैछ भन्ने हेर्छौ’, नेम्वाङको भनाइ छ । उनले विगतमा राष्ट्रिय राजनीतिका बारेमा अमुक नेताहरूसँग छलफल गर्नुपरेको भन्दै पुन त्यस्तो अवस्था आउन नपरोस् भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।