जसपाको ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

Spread the love

काठमाडौँ,साउन ३ (ई–रैवार)

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए ।

जसपा ठाकुर समूहका सांसद उमाशंकर अरगरियाका अनुसार प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने निर्णय भएको छ । “प्रधानमन्त्रीले विश्वासको मतका लागि भनेर पत्र पनि पठाउनुभएको छ,” अरगरियाले भने, “उहाँको अनुरोधलाई हामीले स्वीकार गरेर विश्वासको मत दिने निर्णय भएको छ ।”

“ ‘उहाँले हाम्रो माग मुद्दा सम्बोधन गर्ने मौखिक वचन दिनुभएको छ” अरगरियाले भने, ‘संसदमा बोल्दा पनि यसबारे भन्छु भन्नु भएकाले विश्वासको मत दिने निर्णय गरेका छौं ।’

जसपाको उपेन्द्र यादव पक्षले यसअघि नै देउवालाई मत दिने निर्णय गरिसकेको छ । ठाकुर र यादव दुवै पक्षले विश्वासको मत दिने भएपछि प्रधानमन्त्री देउवाले जसपाबाट ३२ सांसदको समर्थन पाउने भएका छन् ।

जसपा ठाकुर समूहका सांसदहरु विश्वासको मत दिने भएपछि एमालेको माधव समूहका कुनै सांसद् मत नदिएपनि देउवाको पक्षमा बहुमत पुग्ने भएको छ ।

यसअघि देउवाको पक्षमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, राष्ट्रिय जनमोर्चाको १, जसपा उपेन्द्र समूहको २० गरी १ सय ३१ मत सुनिश्चित थियो । अब महन्थ पक्षको १२ थपिएसँगै देउवाको पक्षमा १ सय ४३ मत सुनिश्चित भएको छ ।

विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक पर्छ । माधव नेपाल समूहका सांसदहरुले पनि देउवालाई मत दिने तयारी गरिसकेका छन् ।