काठमाडौं, असार १६ (ई–रैवार)
नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग गरिएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले उक्त कमिटी भंग गर्दै त्यसलाई केन्द्रीय कमिटीमा रूपान्तरण गरेको हो ।
दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरणगरी भंग गरेको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
बैठकले नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका चार जना रामबहादुर थापा बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई एमालेको स्थायी कमिटीमा थप गरिएको छ ।
बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनित गर्ने निर्णय पनि गरेको छ ।
दशौं महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएसँगै माधवकुमार नेपालसहित ११ जनामाथिको कारबाही स्वत: निष्प्रभावी भएको प्रवक्ता ज्ञवालीले बताए ।
बैठकले कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको कामको उच्च प्रशंसा गरेको पनि ज्ञवालीले बताए । सबै नागरिकलाई खोप दिलाउन सरकारलाई अनुरोध पनि गरेको छ । त्यस्तै एमालेको बैठकले बाढी, पहिरोजस्ता विपदमा उद्दार र राहतमा सरकारले खेलेको भूमिकाको उच्च प्रशंसा गरेको ज्ञवालीले बताए ।
रूपान्तरित केन्द्रीय कमिटीको बैठक यही असार १८ गते काठमाडौंमा बस्ने गरी आह्वान गरिएको ज्ञवालीले जानकारी दिए । आजको निर्णयसँगै एमाले २०७५ जेठ २ गतेको केन्द्रीय कमिटीमा रूपान्तरण भएको छ ।


