काठमाडौं, असार १६ (ई–रैवार)
नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै छ । एमालेको बैठकबालुवाटारमा बिहान ११ बजे बस्न लागेको हो ।
दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने बताइएको छ । बैठकले पार्टीको आन्तरिक विवाद समाधानको सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।
माधव नेपाल पक्षका नेताहरुले भने सो बैठकमा सहभागी नहुने बताएका छन् । आयोजक कमिटी माधव नेपाल–झलनाथ खनाल पक्षले माग गर्दै आएको २०७५ जेठ २ गतेको केन्द्रीय कमिटीमा रुपान्तरण हुन लागेको हो । अब एमाले पुरानै संरचनाअनुसार सञ्चालन हुने छ ।
मंगलबार बसेको एमाले केपी शर्मा ओली पक्षको स्थायी कमिटी बैठकपछि पार्टी प्रवक्ता ज्ञवालीले बुधबार (आज) महाधिवेशन आयोजक कमिटी बैठक बस्ने र उक्त कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने जानकारी दिएका थिए ।
बैठकले असार १८ गते केन्द्रीय कमिटीको बैठक बोलाउने पनि तयारी गरेको ज्ञवालीले जानकारी दिए । उनकाअनुसार धेरै विषय १८ गतेको केन्द्रीय कमिटीबाट टुङ्ग्याइने छ ।
२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । यद्यपि सर्वोच्च अदालतले त्यसलाई बदर गरिदिएपछि एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएका थिए ।
पार्टी अध्यक्ष ओलीले नेपाल पक्षका नेताहरुको असहमतिका बाबजूद माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादल लगायतका नेताहरुलाई जिम्मेवारी दिएका थिए ।


