लुम्बिनी प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचन आज हुँदै, पाण्डे र खड्का प्रतिस्पर्धामा

Spread the love

दाङ, जेठ १७ (ई-रैवार)

लुम्बिनी प्रदेशमा राष्ट्रियसभामा रिक्त एक पदका लागि आज मतदान हुँदै छ । राष्ट्रियसभा सदस्य रहेका चन्द्रबहादुर खड्का नेकपा एमाले प्रवेश गरेपछि नेकपा माओवादी केन्द्रले कारबाही गर्दा रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार रहेका छन् ।

प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान नौ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले निर्वाचन सकिएलगत्तै मतगणना सुरु हुने र आजै परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको बताए ।

उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा लुम्बिनी प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुखहरु गरी २१७ गरी जम्मा ३ सय जना मतदाता छन् ।

माओवादी केन्द्रबाट निर्वाचित दधिराम न्यौपाने र दिनेश पन्थी पार्टीको कारवाहीमा परी पदमुक्त हुँदा मतदान गर्न पाउने छैनन्। त्यस्तै दाङबाट निर्वाचित एमाले सांसद अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएको हुँदा उनले पनि मतदाधिकार पाउने छैनन् ।

यो निर्वाचनमा एकजना प्रदेशसभा सदस्यको मतभार ४८ छ । ८३ जनाको कुल मतभार ३ हजार ९ सय ८४ छ । स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २१७ मतदाता छन् । उनीहरुको कूल मतभार ३ हजार ९ सय ६ छ । प्रदेश र स्थानीय तह जोडेर कुल मतभार ७ हजार ८ सय ९० पुगेको छ ।

जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतको आदेशबाट पुनर्बहाली भएका कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई पनि निर्वाचन आयोगले पूरक मतदाताको रुपमा मताधिकार दिएको छ ।