काठमाडौं, जेठ १० (ई-रैवार)
विपक्षी पाँच दलले आज बहुमत सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट हाल्ने भएका छन्। संसद विघटन गरेर चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलले आज बहुमत सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट हाल्ने भएका हुन् ।
आइतबार नै सर्वोच्च जाने तयारी गरे पनि आवश्यक कागजात जुटाएका दलहरु सोमबार बिहान रिट हाल्नका लागि सर्वोच्च जान लागेको नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले बताइन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गरेका सांसदको नागरिकता संकलन नभएपछि विपक्षी गठबन्धनले आज मात्रै रिट हाल्न लागेको हो ।
शनिबार ५ दलको सर्वपक्षीय बैठकले १४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च जाने निर्णय गरेको थियो । बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाईँ लड्ने निष्कर्ष निकालेको थियो । सोही निर्णय अनुसार आइतबार उनीहरुले हस्ताक्षर गरेर रिट तयारको प्रक्रिय सुरु गरे पनि अदालत जान समय अभाव भएको भन्दै आज जाने भएका हुन् ।
रिट हाल्ने प्रयोजनका लागि कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र–बाबुराम समूह र राष्ट्रिय जनमोर्चाले आफ्ना सांसदहरुको हस्ताक्षर, नागरिकताको प्रतिलिपि लगायतका कागजपत्र संकलन गरेका थिए ।
रिटमा धारा ७६ ९५० अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको जिकीर गरिएको छ । कांग्रेस नेता रमेश लेखकका अनुसार रिटमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गरिएको छ ।


