काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक आउँदो शनिबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पुस १० गते बिहान ११ बजे शनिबार केन्द्रीय समितिको बैठक सानेपामा बस्ने जानकारी दिएका हुन् ।
आज सबै केन्द्रीय सदस्यहरुको मतपरिणाम आइसक्ने र त्यसपछि बैठक व्यवस्थापनको तयारी सुरु हुने मुख्य सचिव पौडेलले बताए । अब आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यहरुका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आज सकिँदै छ । सानेपामा जारी मतगणना आज सकिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतगणना सकिएर पदाधिकारी र केन्द्रीय सदस्यको टुंगो लागेपछि कार्यसमितिको बैठक बस्न लागेको हो ।
काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशन अन्तर्गत जारी रहेको मतगणना बिहीबार नै सम्पन्न गरिसक्नुपर्ने बाध्यकारी अवस्था रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
काँग्रेसको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक शनिबार तय भएको र निर्वाचन आयोगमा दल दर्ता गर्ने समय पनि सकिन लागेकाले पनि शुक्रबारसम्म प्रमाणपत्र वितरणलगायतका सबै काम सम्पन्न गरिसक्नुपर्ने निर्वाचन समितिका सचिव एवं अधिवक्ता केशव रिजालले बताए ।
मंसिर २४/२७ सम्म भएको कांग्रेसको १४ औं महाधिवेशनमा १३४ पदका लागि निर्वाचन भएको थियो । बुधबारसम्म दलिततर्फसहित १०६ पदको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म सार्वजनिक १३ पदाधिकारीसहित ९७ पदमध्ये संस्थापन समूहले दुई तिहाइ बढी पदमा जित हासिल गरेको छ।
कांग्रेसको विधान बमोजिम निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिको प्रस्तावमा एकजना कोषाध्यक्षलाई मनोनित गरिने छ भने सभापतिले थप ३३ केन्द्रीय सदस्य मनोनित गर्न पाउनेछन् ।


