काठमाडौं, जेठ ९ (ई-रैवार)
सर्वोच्च अदालतमा रिट दायर गर्न सिंहदरबारमा हस्ताक्षर र नागरिकता संकलन जारी रहेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायरका लागि विपक्षी गठबन्धनमा रहेका सांसदहरुले धमाधम हस्ताक्षर र नागरिकता संकलन गरिरहेका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका सांसदहरुलाई हस्ताक्षर र नागरिकता संकलनका लागि सिंहदरबार बोलाइएको छ । सबैको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने विपक्षी गठबन्धनको तयारी छ ।
सिंहदरबारमा नेकपा माओवादी केन्द्र, जसपा र नेपाली कांग्रेसको संसदीय दलमा आ आफ्ना पार्टीका सांसद नागरिकतासहित उपस्थित भएर हस्ताक्षर गरिरहेका छन् । यस्तै सिंहदरबारमा माधव नेपाल पक्ष पनि सोही प्रयोगमा जुटिरहेको छ ।
विपक्षी गठबन्धनमा रहेका १४९ जना सांसदहरुका तर्फबाट रिट दायर गर्ने तयारी छ । त्यसका लागि गठबन्धनका नेताहरु अहिले कानुनविद्हरुसँग पनि छलफलमा छन् ।
हस्ताक्षर संकलन पछि विघटित प्रतिनिधिसभाका सांसदहरु दिउँसो १ बजे सर्वोच्च अदालत जाने कार्यक्रम रहेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध विपक्षी गठबन्धनका सांसदहरु सर्वोच्च जान लागेका हुन् । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार पक्षमा उभिएका बहुमत सांसदहरु अदालतमा मुद्दा दर्ता गर्न लागेका छन् ।
शनिबार नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाबीच भएको छलफलमा हस्ताक्षर र नागरिकतासहित अदालत जाने निर्णय भएको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले जेठ ८ गते राति संसद विघटन गरेपछि विपक्षी गठबन्धन आक्रोशित बनेको छ।
सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार मध्यरातमा संसद् विघटन गरेकी थिइन् । कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकका अनुसार सांसदहरूको हस्ताक्षर लिएपछि सर्वोच्चमा जाने तयारी छ।


