काठमाडौं, जेठ ९ (ई-रैवार)
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका युवा नेताहरुले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । एमालेका झलनाथ खनाल-माधव नेपाल पक्षका विद्यार्थी नेता जीवन राईले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन।
नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव पक्षका युवा नेता जीवन राई लगायतका युवाहरुले राजनीतिक दल दर्ताका लागि निवेदन दिएका हुन् । युवा नेता जीवन राईको अध्यक्षतामा दल दर्ताका लागि निवेदन दिइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन्। पार्टीको नाम ‘नेकपा एकीकृत’ र चुनाव चिन्ह ‘कलम’ प्रस्ताव गर्दै आयोगमा निवेदन परेको हो।
२५ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्षमा जीवन राई, कल्पना गुरुङ उपाध्यक्ष, विनोदकुमार खुलाल महासचिव, ऐन बिक्रम कुँवर सचिव र सुशीला खनाल कोषाध्यक्ष रहेका छन् । संखुवासभा घर भएकाका राई नेपाल पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुन् ।
एक महिनाअगाडि नै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ताका लागि निवेदन दिएको जीवन राईले बताए । “हामीले दर्ता गरेर आएका छौँ । ४५ दिनमा आउनुस् भन्नुभएको थियो । अहिले खबर आएको छैन,” उनले भने । निर्वाचन आयोगका प्रवक्ता श्रेष्ठले दल दर्ताका लागि पेश गरेको कागजात अध्ययन गर्ने काम भइरहेको बताएका छन् ।
यसअघि कलम चिन्हबाट गत जेठ ६ गते बागमती प्रदेश अन्यतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्य पदमा संघीयताविज्ञ खिमलाल देवकोटा निर्वाचित भएका थिए। उनले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराएका थिए। पछिल्लो समय नेकपा एमालेभित्र बढेको विवादलाई यो उपनिर्वाचनले झन् तिक्तता बढाएको थियो।
नेकपा एमालेभित्र विवाद पुनः उत्कर्षमा पुगेको बेला यो तथ्य बाहिरिएको हो । नेता माधवकुमार नेपालसहितका नेताले नयाँ पार्टी दर्ता गर्ने बताउँदै आएका छन् । एमाले भित्रको विवाद बढेपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित ११ जनालाई स्पष्टिकरण सोधेका छन्।


