राष्ट्रपतिको कदम संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र : काँग्रेस

राष्ट्रपतिको कदम संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र : काँग्रेस
Spread the love

काठमाडौं, जेठ ६ (ई-रैवार) 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक भएको बताएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री पदमुक्त नभइ राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नु असंवैधानिक भएको जनाएको हो ।

संविधानको धारा ७६ (३) अनुसार बनेका प्रधानमन्त्रीले राजीनामा नगरी ७६ (५) अनुसार सरकार गठन प्रक्रिया सुरु गर्नु आपत्तिजनक र असंवैधानिक भएको काँग्रेसले जनाएको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले ‘संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत हुनुका साथै आपत्तिजनक र असंवैधानिक रहेको बताएका छन् ।

नयाँ सरकार गठनका लागि दिइएको २१ घण्टाको समय अवधी तोकिनु आश्चर्यको विषय भएको उनले बताए । यसबारे शुक्रबार बिहान पार्टीका शीर्षस्थ नेताबीच छलफल गरेर रणनीति बनाउने उनले बताए ।

त्येसैगरी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया सुरु गर्नु संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको टिप्पणी गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न २४ घण्टा पनि समय नदिनु षड्यन्त्र भएको बताए ।

‘सामान्यतया नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन हो । तर एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केही हुन सक्दैन’ उनले भनेका छन् । नेता पौडेलले यो अवस्थामा संविधान जोगाउने प्रयासमा लाग्न दलहरुलाई आग्रह गरेका छन् ।