काठमाडौँ, जेठ ४ (ई-रैवार)
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच ओली नेतृत्वको सरकारमा सहभागी नहुने सहमति भएको छ । अध्यक्षद्वय ठाकुर र यादवबीच तत्काल ओली सरकारमा नजाने, तर राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वमा नयाँ सरकार बन्ने अवस्थामा सरकार गठनमा अगाडि बढ्ने सहमति भएको हो ।
जसपाका अध्यक्षद्वय ठाकुर र यादवले आज संयुक्त विज्ञप्ति जारी गर्दै प्रतिपक्षमा नै रहेर भूमिका खेल्ने जानकारी गराएका हुन् । “पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क–वितर्क एवम् अड्कलबाजीहरू भइरहेका छन् । तत्काल हामो पार्टी सरकारमा सहभागी हुने छैन । जनता समाजवादी पार्टी नेपाल सरकारमा सहभागी नभई प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत कायम रहने छ । तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ,” विज्ञप्तिमा भनिएको छ ।
यादव पक्ष नयाँ सरकार गठनको पक्षमा भएपनि ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक थिए । प्रधानमन्त्रीले विश्वासको मत लिँदा तटस्थ बसेको ठाकुर पक्षले नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसलाई पनि साथ दिएन ।
यससँगै प्रधानमन्त्री ओलीले अब संसदमा विश्वासको मत लिन जाँदा जसपाको साथ नपाउने पक्का भएको छ । संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता ओलीलाई राष्ट्रपतिले ३० वैशाखमा संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त गरेका थिए । ३१ वैशाखमा शपथ लिएका प्रधानमन्त्री ओलीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ ।
पार्टीमा उत्पन्न भएका समस्याहरुलाई पार्टीभित्र छलफल गरी विधान अन्तरगत रहेर समाधान गरिनुपर्नेमा दुई अध्यक्षको विज्ञप्तिमा जोड दिइएको छ । जसपाका अध्यक्षद्वय ठाकुर र यादवले आज संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीलाई एकताबद्ध बनाउने विषयमा ७ बुँदा अघि सारेका छन् ।




