काठमाडौँ, वैशाख ३० (ई-रैवार)
प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले बोलाएको पार्टीको स्थायी कमिटी बैठक बालुवाटारमा जारी रहेको छ । संसद्को विश्वास गुमाएपछि ओलीले पहिलोपटक स्थायी कमिटी बैठक बोलाएका हुन् ।
संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा नेकपा एमालेका अध्यक्ष एंव काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक डाकेका छन्।
बैठक बिहीबार बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा सरकार गठनका विकल्पबारे छलफल हुने बताइएको छ । प्रतिनिधिसभामा विश्वासको मत प्राप्त हुन नसकेको परिस्थितिपछिको समीक्षा र आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारे छलफल गरिन लागेको एक स्थायी कमिटी सदस्यले बताए ।
संसद्मा विश्वासको मत गुमाएपछि आह्वान भएको गठबन्धन सरकार निर्माणको समयसीमा आज सकिँदै छ । उता, एमालेका असन्तुष्ट समूह खनाल–नेपाल पक्षले आजै राजीनामा बुझाउने तयारी पनि गरेको छ । यद्यपि, राजीनामा दिने कि नदिने भन्नेमा उनीहरूभित्र मत बाझिएको छ ।
नेता सुवास नेम्वाङका अनुसार खनाल नेपाल पक्षका सांसदहरुको राजीनामा रोक्न आज अन्तिम प्रयास गरिनेछ । ‘एमालेको आन्तरिक जीवनमा केही महत्वपुर्ण निर्णय हुन्छ कि भन्ने मलाई लागेको छ’, नेम्वाङले भने, ‘हामी अत्यन्तै संवेदनशील मोडमा छौ ।’
स्थायी कमिटी बैठकअघि ओली समूहका नेता तथा महासचिव विष्णु पौडेलले नेता माधब नेपाललाई आज बिहानै नेपाल निवास कोटेश्वर पुगेभेटेर छलफल गरेका थिए । सो छलफलमा भएका विषय सार्वजनिक भएका छैनन् । यद्यपि यो भेटलाई एमालेको आन्तरिक एकता मजबुत बनाउने प्रयासको रुपमा हेरिएको छ । कोटेश्वर पुगेर पौडेलले राजीनामा नदिन आग्रह गरेको बुझिएको छ ।
प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिन असफल भएपछि नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदैछ ।


