काठमाडौँ, वैशाख २६ (ई-रैवार)
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिँदा सांसदलाई ह्वीप जारी नगर्ने भएको छ । संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टीले प्रधानमन्त्री ओलीले मागेको विश्वासको मतमाथि सोमबार प्रतिनिधि सभा हुने मतदानमा आफ्ना सांसदहरूलाई ह्वीप नलगाउने भएको हो ।
जसपा नेता बाबुराम भट्टराईको टोखास्थित निवासमा आइतबार दिउँसो बसेको जसपा पदाधिकारी बैठकले सांसदहरूलाई उनीहरूकै विवेकले निर्णय गर्न दिने निर्णय गरेको हो। यद्यपी पार्टीले विश्वासको मतको पक्षमा मत नहाल्ने निर्णय गरेको छ । तर सांसदलाई ह्वीप भने नलगाइएको वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिए । उनका अनुसार सांसदले मतदान गर्दा स्वविवेक प्रयोग गर्न पाउनेछन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र पुनर्स्थापित भएपछि संसदको अंकगणितमा निर्णायक बनेको जसपा दुई खेमामा विभाजित थियो । संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नयाँ सरकार गठनको पक्षमा थिए भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा थिए । तर कार्यकारिणी समितिमा बाबुराम–उपेन्द्र पक्षको बहुमत देखिएपछि महन्थ–राजेन्द्र पक्षले तटस्थ बस्ने प्रस्ताव अघि सारेका थिए ।
संघीय परिषद्का संयोजक डा. बाबुराम भट्टराईको निवास, टोखामा बसेको बैठकमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले तटस्थ बस्ने प्रस्ताव गरेका थिए । डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका नेताहरुले विश्वासको मत माग्ने प्रस्तावको विपक्षमा मत दिनुपर्ने धारणा राखेका थिए ।
आइतबार बिहान महन्थ–राजेन्द्रले प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेका थिए र तटस्थ बस्ने बताएका थिए ।


